राष्ट्र केवल नक्सामा कोरिएको भूगोल होइन। राष्ट्र केवल संविधानमा लेखिएको नाम मात्र पनि होइन।
राष्ट्र त त्यो अदृश्य अनुभूति हो, जसले आफ्नो माटो दुख्दा आफ्नो हृदय दुखेको महसुस गराउँछ। आफ्नो देशको झन्डा फहराउँदा भविष्य हाँसेको, इतिहास नाचेको देख्छ। हजारौं माइल टाढा बसेर पनि जन्मभूमिको माटोको गन्ध सम्झँदा मनभित्र कुनै पुरानो वीणा बजेको, आफ्नो आँगनमा बसेको अनुभव गर्छ।
आज रुस र युक्रेनबिचको युद्धले संसारलाई एउटा कठोर सत्य सम्झाइरहेको छ– हातमा हतियारभन्दा पहिले हरेक नागरिकको मनमा आफ्नो राष्ट्रप्रतिको अपनत्व बलियो हुनुपर्छ।
वर्षौंदेखि युद्ध चलिरहँदा पनि ती देशका नागरिक आफ्नो देश, घर, भाषा, इतिहास र भविष्यको पक्षमा उभिएका छन्। यसपछाडि केवल सैन्य अनुशासन छैन, पुर्खाप्रतिको गौरवसहित साझा राष्ट्रिय अनुभूति पनि छ। अनुसन्धानहरूले युद्धका क्रममा राष्ट्रिय पहिचान अझ सुदृढ भएको देखाएका छन्। भाषा, सांस्कृतिक स्मृति, नागरिकता, स्वतन्त्रताको आकांक्षा र साझा भविष्यको भावनाले उनीहरूको राष्ट्रिय एकतालाई बल दिएको देखिन्छ।
युद्धले ती देशका नागरिकलाई एउटा प्रश्न सोध्यो– तिमी को हौ? उत्तर आयो– हामी हाम्रो देशका नागरिक हौं। यो हाम्रो घर हो, इतिहास हो, शिर हो, भविष्य हो। यही हो राष्ट्रभावको शक्ति।
अब प्रश्न नेपालतर्फ फर्किन्छ। हामी नेपालीलाई के कुराले एउटै भावनात्मक सूत्रमा बाँध्न सक्ला? दलले? चुनावले? जातले? क्षेत्रले? भाषाले? अर्थतन्त्रले?
यी सबैका आआफ्ना भूमिका छन् तर यीमध्ये कुनै एउटैले मात्र हिमालदेखि तराईसम्म, पूर्वदेखि पश्चिमसम्म, पुस्तौंदेखि पुस्तासम्म नेपाली मनलाई स्थायी रूपमा बाँध्न सक्दैन।
हामीलाई एउटा अझ गहिरो आधार चाहिन्छ र त्यो आधार हो, साझा सांस्कृतिक स्मृति, साझा सभ्यतागत चेतना र साझा मातृभूमिप्रतिको आध्यात्मिक अपनत्व। राष्ट्र भनेको साझा अनुभूति हो।
एउटी वृद्ध आमाले आफ्नो छोरालाई विदेश पठाउँदै गर्दा हातमा अक्षता राख्छिन्। छोरो विमानस्थलतर्फ जान्छ। आमाले भन्छिन्– जहाँ गए पनि आफ्नो देश नबिर्सनू। यो केवल आमाको भावुक वाक्य होइन, राष्ट्रप्रेम हो।
यसमा पुस्तौंको संस्कार, उज्ज्वल भविष्यको मिर्मिरे बोलिरहेको हुन्छ। त्यसैगरी, कुनै नेपाली विदेशमा पुगेपछि कसैले ‘नेपाल कहाँ हो?’ भनेर सोध्दा उसले हिमालको फोटो देखाउँदै भन्छ– त्यो मेरो देश हो। त्यो क्षणमा नेपाल केवल १,४७,५१६ वर्ग किलोमिटर भूभाग रहँदैन।
नेपाललाई जोड्ने सांस्कृतिक आधार के हो?
यहाँको सभ्यता कुनै एउटा शताब्दीमा जन्मिएको होइन। हजारौं वर्षको सांस्कृतिक प्रवाह, वैदिक चिन्तन, उपनिषद्को आत्मदर्शन, बुद्धको करुणा, रामलाई मर्यादा पुरुषोत्तम बनाउने जानकी माता, स्रङ चङ गम्पोलाई सम्राट बनाउने भृकुटी, लुम्बिनीबाट शान्तिको बिकुल फुक्ने शान्तिका अग्रदूत गौतम बुद्ध, जनकको ज्ञानपरम्परा, शिवको तपस्या, पारुहाङ र सुम्निमाको संवाद, पशुपतिनाथको आराधना, मुक्तिनाथको तीर्थ परम्परा, किरात सभ्यताको विरासत, हिमाली संस्कृतिहरू, नेवारी सभ्यता, मैथिली परम्परा, थारू संस्कृति, तामाङ, गुरुङ, मगर, शेर्पा, लिम्बू, राई, मधेसी तथा अनेकौं समुदायका जीवनपद्धतिहरू मिलेर नेपालको सभ्यतागत चित्र बनेको छ।
यसैले वैदिक सनातन राष्ट्रवाद भन्नाले कुनै एक जात, एक सम्प्रदाय वा एक धार्मिक समूहलाई राष्ट्रको मालिक बनाउने विचार बुझिनुहुँदैन। यो भूमिमा विकसित भएका हजारौं वर्षका आध्यात्मिक, सांस्कृतिक र मानवीय मूल्यप्रति सम्मान गर्दै, सबै नेपालीलाई एउटै मातृभूमिका सन्तानका रूपमा जोड्ने राष्ट्रिय चेतनाको रूपमा बुझ्नुपर्छ।
सनातनको सुन्दरता पनि यही हो– यसले सत्यलाई एउटै साँघुरो बाटोमा बन्द गर्न खोज्दैन। सत्य एउटै हुन सक्छ। ज्ञानीहरूले त्यसलाई अनेक प्रकारले व्यक्त गर्छन्। यही भावनालाई राष्ट्रजीवनमा उतार्ने हो भने नेपालमा विविधता विभाजनको कारण होइन, सभ्यताको सौन्दर्य बन्न सक्छ। ‘वसुधैव कुटुम्बकम्’ र राष्ट्रप्रेमबिच विरोध छैन। कहिलेकाहीं प्रश्न उठ्छ– सनातन दर्शनले ‘वसुधैव कुटुम्बकम्’ सम्पूर्ण पृथ्वीलाई परिवार भन्छ भने राष्ट्रवाद किन? तर यी दुईबिच विरोध छैन।
जसरी मानिसले आफ्नी आमालाई प्रेम गर्छ र त्यसका कारण अरूकी आमालाई घृणा गर्नुपर्दैन, त्यसरी नै आफ्नो राष्ट्रलाई प्रेम गर्नु र संसारका अरू राष्ट्रलाई सम्मान गर्नु परस्पर विरोधी कुरा होइन। राष्ट्रप्रेम अहंकार होइन, राष्ट्रप्रति उत्तरदायित्व हो। नेपाललाई प्रेम गर्नुको अर्थ भारतलाई घृणा गर्नु होइन। नेपाललाई प्रेम गर्नुको अर्थ चीनलाई घृणा गर्नु होइन। नेपाललाई प्रेम गर्नुको अर्थ संसारका अरू सभ्यताप्रति वैरभाव राख्नु पनि होइन। बरु साँचो सनातन राष्ट्रचेतना भन्छ– ‘आफ्नो जरा बलियो बनाऊ, अनि संसारसँग आत्मविश्वासका साथ संवाद गर।’
कल्पना गरौं, एउटा देशसँग अग्ला भवन छन्, चौडा सडक छन्, ठुलो अर्थतन्त्र छ, आधुनिक प्रविधि छ तर आफ्ना बालबालिकाले आफ्ना पुर्खाको कथा चिन्दैनन्। आफ्नो इतिहासप्रति गर्व छैन। आफ्नो भाषाप्रति माया छैन। आफ्नो संस्कृतिलाई पिछडिएको ठान्छन् अनि देशको माटोसँग भावनात्मक सम्बन्ध छैन भने त्यस्तो देश बाहिरबाट सम्पन्न देखिए पनि भित्रबाट कमजोर हुन सक्छ किनकि भवनले राष्ट्र बनाउँदैन, भवनभित्र बस्ने मानिसहरूको साझा चेतनाले राष्ट्र बनाउँछ।
नेपालमा आज हामीले यही प्रश्न सोध्नुपर्ने बेला आएको छ– हाम्रा सन्तानलाई हामी के दिँदै छौं? केवल डिग्री? केवल जागिरको सपना? केवल विदेश जाने आकांक्षा? कि तिमी जहाँ पुगे पनि तिमीभित्र नेपाल बोकेर हिँड्नुपर्छ भन्ने आत्मबोध?
रुखको शक्ति हाँगामा मात्र हुँदैन, जरामा हुन्छ। राष्ट्र पनि त्यस्तै हो। आधुनिकता, विज्ञान, प्रविधि, अर्थतन्त्र हाम्रा हाँगा हो। तर संस्कृति, इतिहास, भाषा, आध्यात्मिक चेतना, मातृभूमिप्रतिको प्रेम हाम्रा जरा हुन्। जरा काटेर हाँगा हरियो राख्न सकिँदैन।
अब नेपालले कस्तो राष्ट्रवाद खोज्ने?
नेपाललाई यस्तो राष्ट्रवाद चाहिएको छ, जसले नेपालीलाई नेपालीसँग जोडोस्, नेपालीलाई नेपालीबाट अलग नगरोस्। त्यस्तो राष्ट्रवाद जसले जातलाई सम्मान गर्छ तर जातीय अहंकारलाई अस्वीकार गर्छ। भाषालाई माया गर्छ तर भाषाका नाममा घृणा गर्दैन। धर्मलाई सम्मान गर्छ तर धर्मका नाममा हिंसा गर्दैन। परम्परालाई जोगाउँछ तर अन्धविश्वासलाई संरक्षण गर्दैन। आधुनिकतालाई स्वीकार गर्छ तर आफ्नै जरा काटेर आधुनिक बन्न खोज्दैन। विज्ञानलाई सम्मान गर्छ तर आत्मालाई नकार्दैन र सबैभन्दा महत्वपूर्ण, आफ्नो संस्कृतिप्रति गर्व गर्छ तर अरूको संस्कृतिप्रति घृणा गर्दैन। यही सन्तुलनमा वैदिक सनातन राष्ट्रवादको आधुनिक अर्थ खोज्न सकिन्छ।
हाम्रो राष्ट्रिय पुनर्जागरण कहाँबाट सुरु हुन्छ?
यो घरपरिवारबाट सुरु हुन्छ। हजुरबा र हजुरआमाले हिँड्न सिकाउँदा, बाबा र आमाले छोराछोरीलाई आफ्नो पुर्खाको कथा सुनाउँदा सुरु हुन्छ। विद्यालयमा नेपालको इतिहास केवल परीक्षाको विषय नभएर आत्मगौरवको विषय बन्दा सुरु हुन्छ। युवाले विदेश जाने तयारी गर्दा पनि ‘म फर्केर आफ्नो देशका लागि केही गर्छु’ भन्ने संकल्प गर्दा सुरु हुन्छ। मन्दिरमा पूजा गर्दा ‘मेरो मात्र होइन, सम्पूर्ण समाज र देशको कल्याण होस्’ भन्ने भावना जाग्दा सुरु हुन्छ। बुद्धको करुणा, जनकको ज्ञान, शिवको तपस्या, कृष्णको गीता, पारुहाङको मुन्धुम, ऋषिको उपनिषद्को आत्मदर्शनलाई नागरिकको जीवनसँग जोड्दा सुरु हुन्छ। अन्तत: मभन्दा माथि हामी आउँदा सुरु हुन्छ।
राष्ट्रप्रेमको अन्तिम अर्थ
राष्ट्रवादको सबैभन्दा उच्च रूप अरूलाई घृणा गर्नु होइन। आफ्नो राष्ट्रलाई यति गहिरो प्रेम गर्नु हो, त्यसको भविष्यका लागि आफूले केही त्याग गर्न तयार हुन सकियोस्। किसानले आफ्नो खेतमा इमानदारीपूर्वक अन्न फलाउँछ भने त्यो राष्ट्रसेवा हो। शिक्षकले एउटा विद्यार्थीको चरित्र निर्माण गर्छ भने त्यो राष्ट्रसेवा हो।
डाक्टरले बिरामीको जीवन बचाउँछ भने त्यो राष्ट्रसेवा हो। सैनिकले देशको रक्षा गर्छ भने त्यो राष्ट्रसेवा हो। युवाले भ्रष्टाचार नगर्ने र लहैलहैको भ्रममा नपर्ने प्रण गर्छ भने त्यो राष्ट्रसेवा हो। विदेशमा बसेको नेपालीले आफ्नो देशको प्रतिष्ठा जोगाउँछ, पुर्खाको गाथा बढाउँछ भने त्यो पनि राष्ट्रसेवा हो। अनि राजनीतिकर्मीले सत्तालाई भन्दा सिद्धान्तलाई केन्द्रमा राखी राजनीति गर्छ भने त्यो पनि राष्ट्रसेवा हो।
राष्ट्र भूगोलले मात्र बनाउँदैन, साझा अनुभूतिले बनाउँछ। राष्ट्र कानुनले मात्र टिकाउँदैन, नागरिकको चरित्रले टिकाउँछ। राष्ट्र सेनाले मात्र जोगाउँदैन, राष्ट्रप्रतिको प्रेमले जोगाउँछ। जुन दिन नेपालीको हृदयमा नेपाल केवल बसोबास गर्ने ठाउँ होइन, आफ्नो आत्माको एउटा अंश बन्नेछ, त्यही दिनदेखि नेपालको वास्तविक राष्ट्रिय पुनर्जागरण सुरु हुनेछ।
–गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री हुन्।
प्रकाशित: २३ भाद्र २०८३ १२:२३ मंगलबार

