सप्तरीमा मोटरसाइकलको ठक्करबाट एक किशोरको मृत्यु भएपछि शव मोटरसाइकलमै बोकेर भाग्ने प्रयास गरेका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार साझ शम्भुनाथ नगरपालिका–६ कठौना बजारमा भएको दुर्घटनामा स्थानीय मोहनपुरका १४ वर्षीय मोहम्मद सादिकको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो। ठक्करपछि शव मोटरसाइकलमा राखेर घटनास्थलबाट सीमावर्ती तर्फ भाग्दै गरेको अवस्थामा गाउलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले बीआर–३२ बी–९७६४ नम्बरको भारतीय मोटरसाइकलमा सवार दुई जनाले सादिकलाई ठक्कर दिएर उपचार गराउने बहानामा भारततर्फ लैजाँदै गरेको अवस्थामा घटनास्थलबाट करिब ११ किलोमिटर पर खडक नगरपालिका–१ नजिकबाट गाउलेले प्रहरीको सहयोगमा समतेका थिए।
प्रहरीले स्थानीयवासीको सहयोगमा भारतको बिहार राज्य, मधुवनी जिल्ला, खतौनी पिपराही निवासी २८ वर्षीय मोहम्मद सादर नटलाई पक्राउ गरेको छ। घटनामा संलग्न अर्का व्यक्ति भने फरार रहेकाले उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका नट बोदेबरसाईन नगरपालिका–५ स्थित सोनु मिट हाउसमा काम गर्ने मजदुर हुन्। प्रहरीले नियन्त्रणमा लिएपछि नटले उपचार गराउन मोटरसाइकलमा लैजाँदै गरेको बताएका छन्।
घटनाप्रति आक्रोशित मृतकका आफन्त र स्थानीयवासीले बिहीबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका–६ कठौनामा करिब ३० मिनेट सडक अवरुद्ध गरेका थिए। घटनाको विस्तृत अनुसन्धान भइरहेको जिप्रका सप्तरीले जनाएको छ।
प्रकाशित: ३२ असार २०८३ १४:२० बिहीबार





