४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

छोरासँग बदला लिन आएकाले जब बुबाको टाउकोमा गोली ठोके..

छोरासँगको लागूऔषध विवादको मूल्य एक निर्दोष बुवाले आफ्नो ज्यान गुमाएर चुकाउनुपरेको छ। सर्लाहीमा एक पूर्वशिक्षकको गोली हानी भएको हत्यामा प्रकरणमा प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानले यस्तै क्रूर र दर्दनाक तस्बिर देखाएको हो।

छोरालाई निशाना बनाएर आएका भारतीय पृष्ठभूमिका अपराधीले उनलाई नभेटेपछि घरमै रहेका बुवालाई गोली हानेर फरार भएका हुन्।

गत शुक्रबार राति करिब ८:२० बजे, सर्लाहीको हरिपुर्वा नगरपालिका–६ का पूर्वशिक्षक रामपुकार यादव आफ्नै घर अगाडि उभिइरहेका थिए। त्यही बेला भारतीय नम्बर प्लेट (बीआर-पीएजी-२३५४) को अपाचे मोटरसाइकलमा दुई व्यक्ति आइपुगे।

उनीहरूले यादवसँग उनका छोरा सुमितकुमारबारे सोधपुछ गर्दै ‘उनीसँग काम छ’ भने। छोरा घरमा नभएको थाहा पाएपछि बाबु रामपुकारले मोबाइल झिकेर छोरालाई फोन लगाउन खोज्दै थिए, त्यही निमेषमा अपराधीहरूले उनको टाउकोमा गोली प्रहार गरे।

रगतको आहालमा ढलेका यादवलाई तत्कालै महोत्तरीको जानकी हेल्थ केयरमा पुऱ्याइए पनि चिकित्सकले मृत घोषित गरे।

हत्यालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि अपराधीहरूको खोजी सुरु भयो। भाग्ने क्रममा सोही नगरपालिकाको बसतपुरमा उनीहरू चढेको मोटरसाइकल दुर्घटनाग्रस्त भयो।

प्रहरीले घटनास्थलबाट चालक हरिपूर्वा नगरपालिका–५ का धिरेन्द्र यादव ‘धिरु’ लाई गम्भीर घाइते अवस्थामा पक्राउ गर्‍यो। उनको गिरफ्तारीले हत्याको रहस्य खोल्न र मुख्य अभियुक्तको पहिचान गर्न प्रहरीलाई ठूलो मद्दत पुगेको छ।

यादव हाल प्रहरी निगरानीमा उपचारपछि जिल्ला प्रहरी कार्यालय, सर्लाहीको हिरासतमा छन्।

गोली प्रहार गर्ने मुख्य व्यक्ति भने फरार छन्। जिल्ला प्रहरी कार्यालय, सर्लाहीका सूचना अधिकारी एवं डीएसपी सरोज राईका अनुसार फरार अभियुक्त भारततर्फ भागेको आशङ्कामा भारतीय समकक्षी (काउन्टरपार्ट्स) सँग समन्वय गरेर खोजीकार्य तीव्र पारिएको छ।

प्रहरी स्रोतका अनुसार, फरार अभियुक्त भारतीय नागरिक हुन्। जो केही वर्षदेखि हरिपूर्वामा घर बनाएर बस्दै आएका थिए। उनको परिवार करिब चार दशकअघि भारतमा ठूला अपराधमा संलग्न भई नेपाल आएर बसेको र नेपाली नागरिकतासमेत लिएको बताइएको छ।

के थियो विवादको जड ?

मृतक रामपुकार यादव एक निजी विद्यालयका पूर्वशिक्षक थिए र गाउँमा असल व्यक्तिका रूपमा चिनिन्थे। तर, उनका छोरा सुमित लागूऔषध प्रयोगकर्ता रहेको र फरार अभियुक्तसँग उनको लागूऔषधकै विषयमा लामो समयदेखि विवाद रहेको खुलेको छ।

यही विवादको बदला लिन अभियुक्त सुमितलाई खोज्दै आएको प्रहरीको ठहर छ। छोरालाई नभेटेपछि रिसको झोकमा बुवालाई निशाना बनाइएको प्रहरीको बुझाइ छ।

प्रकाशित: १ भाद्र २०८२ २१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App