१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

भारतले नेपाललाई दियो थप १० बेली ब्रिज

भारतले नेपाललाई थप १० वटा बेली ब्रिज (फलामे पुल) अनुदानमा दिएको छ ।  

भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित सञ्चालन गर्न भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो । भारतले गत वर्ष १० बेली ब्रिज नेपाललाई दिएको थियो । नेपाल सरकारको अनुरोधमा भारत सरकारले बेली ब्रिज अनुदानमा उपलब्ध गराएको हो ।  

भारतले उपलब्ध गराउने १० वटामध्ये एउटा बेली ब्रिज बिहीबार नेपाललाई हस्तान्तरण गरिएको छ । बाँकी नौ वटा बेली ब्रिज एक हप्ताभित्र नेपाल आइपुग्ने छन् । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिहीबार हेटौंडामा ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङलाई बेली ब्रिज हस्तान्तरण गरेका छन् ।  

भारतले उपलब्ध गराएको बेली ब्रिजको लम्बाइ ७० मिटर रहेको छ । पुलको चौडाइ सिंगल लेन ४.२५ मिटर रहेको छ । पुलको भार बहन क्षमता ३८ मेट्रिक टन छ ।  

पुल हस्तान्तरण समारोहमा मन्त्री घिसिङले नेपाल प्राकृतिक विपद्को संकटमा रहेका वेला भारतले उपलब्ध गराएको सहायतले क्षति पुगेका पूर्वाधार शीघ्र पुनस्र्थापना गरी सडक सञ्जाल सहज बनाउन महत्वपूर्ण रहेको बताए।  

सडक, ऊर्जा, शिक्षा, स्वास्थ्य, क्षमता अभिबृद्धिलगायतका क्षेत्रमा भारत नेपालको विश्वसनीय छिमेकी रहेको उल्लेख गर्दै मन्त्री घिसिङले संकटका समयमा उपलब्ध गराएको सहायताले द्धिपक्षीय साझेदार अझै दह्रो देखिएको बताए । भारतले नेपाललाई गर्दै आएको निरन्तर सहायोगका उनले धन्यवाद ज्ञापन गरेका छन् ।  

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपालको कठिन समयमा सहयोग गर्न सँधै तयार रहेको बताए ।  

 

प्रकाशित: ४ मंसिर २०८२ १५:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App