१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

बाँस प्रवर्द्धनमा जुटेका नगर प्रमुख सत्याग्रहमा

जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले आइतबारदेखि सत्याग्रह सुरु गरेका छन्। उनले बाँसजन्य सामग्रीको प्रवर्द्धनसहित सात बुँदे माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका हुन्।

उनका मागहरूमा स्थानीय स्तरमा उत्पादन हुने बाँसका सामग्री तथा स्थानीय कोदोको रक्सी प्रवर्द्धन, बाँदर नियन्त्रण, भ्रष्टाचार नियन्त्रणलगायतका सात बुँदा छन्। बाँसका सामग्री तथा स्थानीय स्तरमा उत्पादन हुने थोकवस्तुको प्रवर्द्धन गर्न सरकार समक्ष नगरपालिकाले राखेको माग सम्बोधन नभएपछि बाध्य भएर सत्याग्रह सुरु गरेको नगर प्रमुख भट्टराईले बताए।

'बाँस तथा बाँसजन्य कच्चा पदार्थ उपयोगमा ल्याउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थियौँ। हामीले राखेको माग कार्यान्वयन गर्न सरकार उदासीन देखियो,' उनले भने, 'खेर गइरहेका बाँसलाई उपयोगमा ल्याउन सरकारले नीति बनाउनुपर्नेमा सरकार उदासीन देखिएपछि सत्याग्रह सुरु गरेको हुँ। यो कार्यक्रम तीन दिनसम्म जारी रहन्छ।' 

शान्तिपूर्ण सत्याग्रहले माग पूरा नभएमा यही साउनको १४ गतेदेखि आमरण अनसन बस्ने तयारी उनको छ।

बाँसबाट निर्मित सामग्रीसहित सिंहदरबार परिक्रमा गर्न खोज्दा नगर प्रमुख भट्टराईलाई प्रहरीले रोकेको थियो। पशुपतिमा कपाल मुण्डन गरेपछि उनी खाली खुट्टा हिँडेर सिंहदरबारको दक्षिण ढोका पुगेका थिए। त्यसपछि प्रहरीद्वारा माइतीघर मण्डला पुर्‍याइएका नगर प्रमुख भट्टराईले बाँसका सामग्री प्रदर्शनसँगै सत्याग्रह सुरु गरेका हुन्।  

नगर प्रमुख भट्टराई बाँससहित बाँसको मान्द्रो, गुन्द्री, राडी, पराललगायत लिएर यही साउन ४ गते काठमाडौं गएका हुन्। यसअघि आन्दोलनकै कार्यक्रमअनुसार राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्चपदस्थ व्यक्तिहरूलाई बाँसका कुर्सी र टेबल उपहार दिएका थिए।  

भट्टराईले सत्याग्रह घोषणा गरेपछि बाँसजन्य उद्योग स्थापनाको सन्दर्भमा सङ्घीय सरकारसँग छलफल गर्न नगरपालिकाले वार्ता टोलीसमेत गठन गरेको छ। नगर कार्यपालिकाको साउन–१० गते बसेको बैठकले नगर उपप्रमुख एवं कार्यवाहक नगर प्रमुख राईको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए।

'मन्त्रालयको पत्रअनुसार वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र नगर प्रमुख तीर्थराज भट्टराईबीच यही साउन ९ गते छलफल भएको थियो। थप छलफल गर्न र वार्तालाई निष्कर्षमा पुर्याउन मेरो संयोजकत्वमा वार्ता टोली बनाइएको हो,' उनले भने, 'खेर गइरहेका बाँसलाई उपयोगमा ल्याउँदै स्थानीयस्तरमा उद्योग स्थापना गरेर युवापुस्ताका लागि रोजगारी सिर्जना गर्ने नगरपालिकाको नीति छ। हाम्रो माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ।'

नगरपालिकाले ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित गत फागुनमा तीन दिने ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरेको थियो। दिक्तेल बजारमा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणा–पत्र’ गरेको थियो।  

सो घोषणा–पत्रमा बाँसलाई छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्रोतको रूपमा मान्दै यसले नेपालमा दिगो जीविकोपार्जन, चक्रिय अर्थतन्त्रको प्रवर्द्धन तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्ने उल्लेख छ। रासस

प्रकाशित: १२ श्रावण २०८२ ०७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App