४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

वैकल्पिक मार्ग बनाएर सेनाले गर्‍यो ३५० नागरिकको उद्धार

रसुवामा भोटेकोसी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ।

सेनाको टोलीले बुधबार ३५० जना अलपत्र स्थानीयलाई सुरक्षित स्थानमा सारेको छ भने अवरुद्ध सडक मर्मतको काम पनि अघि बढाएको छ। उद्धार कार्यकै क्रममा एक जना सशस्त्र प्रहरी घाइते भएका छन्।

नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको खोज तथा उद्धार टोलीले बाढीले कटान गरेको स्याफ्रुबेसी-टिमुरे सडकखण्डमा ग्याबिन जाली लगाउने काम सुरु गरेको छ।

सोही टोलीले अन्य सुरक्षा निकाय र स्थानीयसँगको सहकार्यमा वैकल्पिक बाटो निर्माण गरी टिमुरेबाट स्याफ्रुबेसीतर्फ आउन लागेका ३५० जना बासिन्दालाई सुरक्षित रूपमा गन्तव्यमा पुग्न सहयोग गरेको हो।

बाढीले रोङ्गा पुल आसपासको क्षेत्रमा बाटो अवरुद्ध पारेपछि उनीहरू अलपत्र परेका थिए।

यसैबीच, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-३, लिङलिङ इलाकामा खोज तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी बलका एक जना सुरक्षाकर्मी घाइते भएका छन्। घाइते जवानलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।

नुवाकोटस्थित सेनाको शेर गणबाट खटिएको टोलीले जिल्लाको किसपाङ्ग गाउँपालिका-५ स्थित त्रिशूली नदी किनारमा राहत कार्य गरिरहेको छ।

उक्त टोलीले त्रिशूली नदीमा सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी गर्नुका साथै नदीले कटान गरेको स्थानमा बाटो मर्मत कार्यमा समेत सहयोग गरिरहेको सेनाले जनाएको छ।

प्रकाशित: २५ असार २०८२ १८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App