नेपालीको महान चाड तिहारमा पोखरामा फूलको मालाको मूल्यमा तीन फरक दर कायम गरिएको छ । पोखरा महानगरपालिकाले फ्लोरिकल्चर एशोसियसन नेपाल, कास्की शाखासँगको सहकार्यमा फूलको मूल्य कायम गरेको हो । सानो थुङ्गाको मालाको मूल्य एक सय रुपैयाँ, मध्यमस्तरको थुङ्गाको माला एक सय ३० रुपैयाँ र ठूलो थुङ्गाको मालाको मूल्य एक सय ५० रुपैयाँ कायम गरेको पोखरा महानगरपालिकाले जनाएको छ ।
तर फूलको थुङ्गाको आकार अनुसार एउटा मालाको मूल्य २ सयसम्म बेच्न पाईने सहमति भएको फ्लोरिकल्चर एशोसियसन कास्कीका अध्यक्ष सुवेदीको दाबी छ ।
‘सामान्यतया सानो आकारको थुंगाको भए १००, मध्यम आकारको भए १३० र ठूलो आकारको भए १५० मा बेच्ने निर्णय छ, तर थुंगाको आकार र मालामा बढी थुंगा प्रयोग भएको अवस्थामा २ सय रुपैयाँसम्ममा बेच्न पाइने सहमति भएको छ’, उनले भने ।
त्यस्तै, फूलको एउटा थुंगाको मूल्य दुईदेखि पाँच रुपैयाँ निर्धारण गरिएको महानगरले जनाएको छ । सयपत्री फूल ठूलो थुंगा पाँच रुपैयाँ, मध्यम आकार भएको थुंगा तीन रुपैयाँ र सानो आकारको थुंगालाई प्रति थुंगा दुई रुपैयाँ कायम गरिएको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर तिमिल्सिनाले जानकारी दिए ।
महानगरले फूलको मूल्य प्रति थुंगा दुईदेखि पाँच रुपैयाँ तोकेपनि भाइटीकाको दिन र त्यसको अघिल्लो दिन बजारमा फूलको अभाव देखाएर बिचौलियाले बढी मूल्य लिने गरेका छन् । जसले उपभोक्ता ठगिने गर्छन् ।
तिहारमा सयपत्री फूल केजीको हिसाबले पनि बिक्री गरिन्छ । यस वर्ष महानगरले सयपत्री फूल थुंगा हेरेर प्रतिकेजी तीन सय रुपैयाँदेखि चार सय रुपैयाँसम्म मूल्य तोकिएको छ । महानगरले फूलको मूल्यसँगै पोखराका विभिन्न ठाउँमा फूल बिक्री केन्द्र पनि तोकेको छ । ती ठाउँबाहेक अन्य ठाउँमा असरल्ल राखेर फूल बिक्री गर्न नपाईने महानगरले स्पष्ट पारेको छ ।
पोखरामा भारतीय फूलको माला प्रतिबन्ध छ । तर तिहारमा मात्रै अनुगमन हुने भएकाले अन्य समयमा भारतीय फूलको माला बिक्री हुँदै आएको छ । तर तिहारमा भने अनुगमनका कारण नभित्रिने दाबी गरिन्छ ।
पोखरामा तिहारलाई झण्डै तीन करोड रुपैयाँ बराबरको फूल खपत हुने गरेको छ । पोखरा र लेखनाथसहित नजिकका क्षेत्रहरुमा झण्डै साढे दुई लाख फूल खपत हुने गरेको र त्यसमा झण्डै तीन करोड रुपैयाँ बराबरको कारोबार हुने भएको हो ।
पोखरामा तिहारलाई चाहिने फूल जिल्लाको उत्पादनसँगै धादिङ, गोरखा, लमजुङ, तनहुँलगायतका छिमेकी जिल्लाबाट पनि आयात हुने गरेको छ । ८० प्रतिशत फूल स्थानीय पोखराका व्यवसायी र किसानले गरेको उत्पादनले धान्छ भने २० प्रतिशत छिमेकी जिल्लाबाट ल्याउने गरिएको छ ।
७० प्रतिशत किसान (सिजनल व्यवसायी)ले उत्पादन गर्दछन् भने बाँकी ३० प्रतिशत पुष्प व्यवसायीले उत्पादन गर्नेगरेका छन् ।
एशोसियसनले तिहारमा पोखरामा उत्पादित फूलको माला नै दाजुभाइलाई लगाई दिन विगतका वर्षदेखि नै आग्रह गर्दै आएको छ ।
प्रकाशित: २ कार्तिक २०८२ १४:५६ आइतबार





