१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

‘कुपोषणको अन्त्यमा स्तरउन्नत खाद्यान्न नै उत्तम उपाय’

खाद्यान्नमा सूक्ष्म पोषक तत्त्वको कमीले नेपालसहित विश्वभरि कुपोषण देखिएको भन्दै स्तरोन्नति गरिएको खाद्यान्न उत्पादन तथा आपूर्ति उचित उपाय रहेको विज्ञहरूले सुझाएका छन्। सोमबार राजधानीमा स्तरोन्नति गरिएको खाद्यान्न संवाद कार्यक्रमका सहभागी विज्ञहरूले यस्तो सुझाएका हुन्।

नेपाल सरकार खाद्य व्यापार तथा ट्रेडिड कम्पनीका प्रमुख रमेश आचार्यले हाल पनि नेपालमा विभिन्न कुपोषण कायम रहेकोले खाद्यान्नमा सूक्ष्म पोषणको समावेश आवश्यक रहेको बताए। नेपालले केही खाद्यान्नमा सूक्ष्म पोषण तत्व समावेश गरी स्तरोन्नति गरिएको खाद्यान्न आपूर्ति कार्य गरिरहेको उनको भनाइ रहेको थियो।

नेपालको धेरै जनसङ्ख्याले उपभोग गर्ने चामलमा पौष्टिक तत्व मिश्रण गरी पाँच वटा जिल्लामा वितरण गरिसकेको उनले बताए। हालसम्म ११ हजार मेट्रिक टन चामल उत्पादन गरी केही सहरमा पहुँच पुगेको, छिट्टै ट्रेडिड कम्पनीकै ब्राण्डमा स्तरोन्नति गरिएको चामल उत्पादन गरी आमजनताको पहुँचमा पुर्‍याउने तयारी भइरहेको आचार्यले जानकारी दिए।

उनले नेपाल जस्तो भौगोलिक विकटता भएको देशमा चामल खाद्य आपूर्ति मात्र नभएर पोषणको लागि उपयोग गर्न आवश्यक भएकोले निजी तथा साझेदार निकायसँग मिलेर काम गरिरहेको बताए। पौष्टिक तत्व समावेश गरी आमजनताको पहुँचमा पुर्‍याउनको लागि वार्षिक ६ अर्ब डलर आवश्यक पर्ने उनको भनाइ छ। 

संवाद कार्यक्रममा प्रस्तुति दिँदै कृषि, पशुपन्छी विकास मन्त्रालयका खाद्य अनुसन्धान अधिकृत प्रमोद कोइरालाले विश्वका ९० वटा देशहरूले स्तरोन्नति गरिएको खाद्यान्नबाट सूक्ष्म पोषक तत्त्वको कमी पूरा गर्न सक्षम भइसकेको भन्दै नेपालको लागि खाद्य स्तरोन्नति अनिवार्य भइसकेको बताए।

उनले विश्वको अनुभवले सूक्ष्म पोषण तत्व समावेश भएको खाद्यान्न सुरक्षित रहेको, फोलिक एसिडमा समावेश खाद्यान्नले शिशुमा जन्मजात हुने न्यूरल ट्युब बन्द हुने समस्या घटेको, रक्तअल्पता घटेको, जिंक, भिटामिन बी १२ र जिंकको समावेशले अन्य कुपोषण हटेको पाइएकोले स्तरोन्नति गरिएको खाद्यान्न कुपोषण अन्त्यको उपाय भएको बताए।

प्रमुख आचार्यका अनुसार हालसम्म नेपालले आयोडिन नुन, चामल र पिठोमा सूक्ष्म पोषण तत्व समावेश गरी आपूर्ति गर्ने कार्यक्रम सञ्चालन गरेको छ। नेपालले सूक्ष्म पोषण तत्व समावेश गरिएको चामलमा आइरन, जिंक, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी १२, थायमिन, नियासिन र पाइरिडक्सिन जस्ता सूक्ष्म पोषण समावेश हुन्छ।

उनले विश्व खाद्य कार्यक्रमका नेपाल प्रतिनिधि रियाज लोदीले नेपाल स्तरोन्नति गरिएको खाद्यान्न कार्यक्रममा प्रगति हासिल गर्न सुरु गरेको बताए। प्रगति हासिल गर्नको लागि निजी क्षेत्र, सरोकारवाला सबै निकायको भूमिका आवश्यक रहेको उनको भनाइ रहेको छ। उनले नेपालको खाद्य सुरक्षा कार्यक्रममा विश्व खाद्य कार्यक्रमले सहकार्य गर्दै आएको र भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए।

सोही क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले दिगो विकास लक्ष्यमा पुग्नको लागि मित्र राष्ट्रहरू कोरिया र भारतको व्यवस्थापनबाट सिक्न आवश्यक भएको बताए। मन्त्री सिन्हाले दिगो विकास लक्ष्य सन् २०३० पूरा गर्न पनि कुपोषणको अन्त्य आवश्यक भएको बताए। नेपालले अन्तर्राष्ट्रिय मञ्चमा कुपोषण घटाउने प्रतिबद्धता जनाएको र विभिन्न राष्ट्रिय नीति बनिसकेकाले अबको कार्य गति बढ्न आवश्यक रहेको बताए।

कुपोषणको अन्त्य गर्न स्थानीय रूपमै उपलब्ध खाद्यान्नलाई उपयोग गर्ने लक्ष्यअनुरूप खाद्यान्नको स्तरोन्नति गर्नु उचित रहेको उनको भनाइ रहेको थियो। ‘नेपालीले नियमित रूपमा प्रयोग गर्ने खाद्यान्न चामलमा सूक्ष्म पोषक तत्व मिश्रण गरी आपूर्ति गरिरहेको र यसको थप विस्तार गर्न आवश्यक छ’ उनले भने।

नेपाल सरकार, विश्व खाद्य कार्यक्रमले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका हुन्। कार्यक्रमबाट स्तरोन्नति खाद्यान्नबारेमा अनुभव र सुझाव आदान–प्रदान गरी सम्पन्न भएको छ।

प्रकाशित: १ पुस २०८२ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App