८ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

मध्यपूर्व द्वन्द्वको प्रभाव : त्रिभुवन विमानस्थलबाट आज १० अन्तर्राष्ट्रिय उडान रद्द

मध्यपूर्व क्षेत्रमा विकसित असामान्य सुरक्षा परिस्थिति तथा हवाई क्षेत्र प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने १० वटा अन्तर्राष्ट्रिय उडान रद्द गरिएका छन्। 

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सूचना जारी गरेर आज (आइतबार)का लागि निर्धारित विभिन्न वायुसेवाका १० उडानहरू रद्द गरिएको जानकारी गराएको हाे। 

कार्यालयका अनुसार जजीरा एयरवेज, कुवेत एयरवेज, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज तथा हिमालय एयरलाइन्सका कुवेत, दुबई, दोहा र दमाम गन्तव्यका उडानहरू पूर्ण रूपमा रद्द भएका छन्। प्रभावित उडानहरूमा काठमाडौं-कुवेत-काठमाडौं, काठमाडौं-दुबई-काठमाडौं तथा काठमाडौं-दोहा-काठमाडौं जस्ता प्रमुख मार्गहरू समावेश छन्। 

उक्त निर्णय सुरक्षा संवेदनशीलता तथा अन्तर्राष्ट्रिय हवाई मार्गमा उत्पन्न जोखिमलाई दृष्टिगत गर्दै गरिएको छ। हालको परिस्थितिमा उडान तालिका पुनर्निर्धारण वा थप रद्द हुन सक्ने सम्भावना पनि कायमै रहेको सूचनामा उल्लेख छ। 

विमानस्थल प्रशासनले यात्रुहरूको असुविधा न्यूनिकरण गर्न सम्बन्धित वायुसेवा कम्पनीहरूसँग समन्वय गरिरहेको जनाएको छ। प्रभावित यात्रुहरूलाई थप जानकारीका लागि सम्बन्धित एयरलाइन्सका वेबसाइट वा सम्पर्क नम्बरमार्फत जानकारी लिन अनुरोध गरिएको छ। 

कार्यालयले परिस्थिति सामान्य हुनेबित्तिकै उडान सेवा पुनः नियमित गरिने स्पष्ट पारेको छ। हाल यात्रुहरूलाई यात्रा अघि उडान स्थिति यकिन गर्न विशेष आग्रह गरिएको छ।

प्रकाशित: ८ चैत्र २०८२ १९:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App