१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

चुरे संरक्षण क्षेत्रभित्र अवैध उत्खनन, १७ टिपर नियन्त्रणमा

उदयपुरको चौदण्डीगढी नगरपालिकाले संवेदनशील चुरे संरक्षण क्षेत्रभित्र राष्ट्रिय गौरवको आयोजनाको बहानामा भइरहेको अवैध उत्खननमा संलग्न १७ वटा टिपर नियन्त्रणमा लिएको छ।

जिल्लाको चौदण्डीगढी नगरपालिका-४, कालीखोलास्थित व्यक्तिको निजी जग्गाबाट अवैधानिक रूपमा माटो खनिरहेको अवस्थामा मंगलबार साँझ प्रहरीको सहयोगमा नगरपालिकाले ती टिपरहरूलाई नियन्त्रणमा लिएको हो।

वडाध्यक्ष लुङ्गराज राईका अनुसार, कालीखोलाका स्थानीय केशव भुजेलको नम्बरी जग्गामा राष्ट्रिय गौरवको आयोजनाका लागि भन्दै माटो उत्खनन भइरहेको सूचना पाएपछि नगरपालिकाले तत्काल कदम चालेको थियो।

‘राष्ट्रिय गौरवको आयोजनाको नाममा नियमविपरीत काम भइरहेको पाइएपछि हामीले प्रहरीलाई खबर गरेर टिपरहरू नियन्त्रणमा लिएका हौं,’ अध्यक्ष राईले भने।

नगरपालिकाको आग्रहमा इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको टोलीले घटनास्थलबाटै १७ वटा टिपर नियन्त्रणमा लिएको थियो।

इलाका प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर बबिन राईले मंगलबार साँझ नियन्त्रणमा लिइएका सबै टिपरलाई बुधबार नगरपालिकाको जिम्मा लगाइएको जानकारी दिए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन कार्यविधि’ अनुसार जेठ ३१ देखि असोज १ गतेसम्म नदीजन्य पदार्थ उत्खननमा पूर्ण प्रतिबन्ध लगाइएको अवधिमा उत्खनन भएकाले कारबाही गरिएको बताए।

‘यो नियम सरकारी, ऐलानी र निजी सबै जग्गामा लागू हुन्छ। प्रतिबन्धित समयमा राष्ट्रिय गौरवको आयोजनाको बहानामा अवैध काम भइरहेको थियो,’ उनले भने। नियन्त्रणमा लिइएका टिपरहरूलाई प्रदेश सरकारको आर्थिक ऐन २०८१ को अनुसूची ११ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ।

उक्त उत्खनन कार्य चौदण्डीगढी-७ स्थित सीताराम कन्स्ट्रक्सन प्रालिले कञ्चनपुर–कमला पूर्वी खण्ड सडक निर्माणको ठेकेदार चाइना रेलवे नं. २ इन्जिनियरिङ कम्पनी लिमिटेडका लागि गरिरहेको खुलेको छ।

यता, सीताराम कन्स्ट्रक्सनका सञ्चालक तेजनारायण साहले भने आफूले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेरै उत्खनन गरेको दाबी गरे। उनले सडक विभागअन्तर्गतको एसियाली विकास बैंक (एडीबी) आयोजना निर्देशनालयबाट गत असार ८ गते नै अनुमति लिएको र सोही आधारमा प्रारम्भिक वातावरणीय अध्ययन (आईईई) समेत पूरा गरी ६ हजार घनमिटर माटो निकाल्ने अनुमति पाएको सुनाए।

चौदण्डीगढी नगरप्रमुख कालुमान लामा पारिवारिक कामले नगरबाहिर रहेकाले उनी फर्किएपछि नियन्त्रणमा लिइएका टिपरमाथि थप अनुसन्धान गरी कारबाही अघि बढाइने नगरपालिकाले जनाएको छ।

प्रकाशित: २८ श्रावण २०८२ २०:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App