अविरल वर्षापछिको बाढी पहिरोले सबैभन्दा धेरै क्षति इलाममा भएको छ । अहिलेसम्म ३८ जनाले ज्यान गुमाएका छन् । धेरै घरबारविहीन भएका छन् ।
सडक सञ्जाल टुटेको छ भने बिजुली नहुँदा सञ्चार सम्पर्क पनि कठिन भइरहेको छ । यो अवस्थामा इलाममा भएको क्षति र क्षतिपूर्तिको सामुहिक पहल गर्न इलाम विकास समाजले बुधबार भर्चुअल बैठक गरेको छ ।
इलाम र इलामसँग जोडिएका व्यक्तिहरू सम्मिलित बैठकले विभिन्न निर्णय गरेको इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए ।
बैठकमा इलाममै फिल्डमा सक्रिय स्थानीय नागरिक अगुवा, विपत समन्वयमा रहेका व्यक्ति तथा इलाम विकास समाजका पदाधिकारी सहभागी थिए ।
बैठकमा इलामको बाढी पहिरो, त्यसको क्षति, अहिलेको अवस्थासहित इलामलाई विपदबाट उठाउने विषयमा छलफल गरिएको समाजका सचिव अर्जुन भट्टराईले जानकारी दिए ।
बैठकमा जिल्लास्तरको समीक्षा गर्दै हालसम्मको राहत, उद्धार र विपद् व्यवस्थापन र राहत उद्धारलाई प्रभावकारी बनाउन नसकिएको विषयमा छलफल गरिएको थियो । सडक, बिजुली, सञ्चार र सूचनाको अभाव, समन्वय अभाव हुँदा विपदको समयमा थप अन्यौल देखिएकाले अब व्यवस्थित रुपमा सरोकारवाला निकायसँग समन्वय गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै संघीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी राहत उद्धारलाई प्रभावकारी बनाउने तथा इलामे जनतालाई माया गर्ने देशविदेशका व्यक्ति, संघसंस्थासँग आग्रहण गर्ने निर्णय भएको भट्टराईले बताए ।
राहत संकलनका लागि बिहीबार नै बैंक खाता खोली सार्वजनिक रुपमा आह्वान गरिने समाजले जनाएको छ । संकलित राहतलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय पालिकासँग समन्वय गरी वितरण गर्ने तथा संकलित र वितरण नियमित रुपमा सार्वजनिक गरिने समाजले जनाएको छ । राहत कार्यलाई पारदर्शी, प्रभावकारी र आवश्यकताअनुसार वितरण गर्न जिल्ला समन्वय प्रमुखको संयोजकत्वमा समन्वय समिति गठन गर्न अनुरोध गर्ने आजको बैठकले निर्णय गरेको छ ।
प्रकाशित: २२ आश्विन २०८२ २१:५१ बुधबार





