४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

आइजिपी भन्छन्: प्रहरी विस्थापित गर्न खोज्ने अपराधी हुन्, समाजले पुष्टि गर्‍यो

नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक(आइजिपी) चन्द्र कुवेर खापुङले समाजमा विस्थापित प्रहरीलाई फर्काउने अभियान चलेकामा खुसी व्यक्त गरेका छन्। आइतबार एक भिडिओ वक्तव्य जारी गरेर आइजिपी खापुङले पीडाको क्षणमा समाजमा स्वतःस्फूर्त प्रहरी फर्काउने अभियान चलेकामा खुसी व्यक्त गरेको हुन्। 

‘मुलुकले अकल्पनीय र अपूरणीय क्षति व्यहोरेको छ। यसले हामी सबैलाई पीडा बोध गराएको छ,’ उनले भनेका छन्, ‘घटनाक्रमले नेपाल प्रहरी अत्यधिक प्रभावित हुन पुगेको छ। हाम्रा प्रहरी कार्यालयहरू जलेर ध्वस्त भएका छन्। सवारी साधन, पोसाकलगायत धेरै धेरै सामग्री जलेका छन्, हराएका छन्। जसका कारण नियमित काम कारबाहीमा फर्कन हामीलाई कठिनाइ भइरहेको छ।’ 

यस विषम घडीमा समुदायले जसरी प्रहरीलाई कार्यालयमा फर्काउने अभियान स्वतःस्फूर्त सुरुवात भएकामा उनले प्रशंसा गरे । ‘सह हृदयका साथ यहाँहरूले देखाउनुभएको अपनत्वले मलाई ज्यादै भावुक बनाएको छ। तपाईँहरूका यी सत्कर्मले मलाई गौरव बोध गराएको छ,’ आइजिपी खापुङले भनेका छन्। 

समाजले सुरु गरेको यो अभियानले ‘प्रहरीलाई विस्थापित गर्न खोज्ने अपराधी मात्र हुन्’ भन्ने प्रहरीको विश्वासमा  थप दृढता पुगेको उनले टिप्पणी गरेका छन्। उनले अगाडि भने, ‘फुटेका सिसा, जलेका सामग्री र भत्किएका पर्खालहरूलाई हटाउन गाह्रो नमानी स्वतःस्फूर्त रूपमा यहाँहरूले योगदान पु¥याउनुभएको छ।’ 

उनले ‘प्रहरी हाम्रा लागि हो’ भन्ने भावना समाज पुनः जागृत गराउन खटिएको समुदायलाई नमनका साथै उच्च सम्मान पनि व्यक्त गरेका छन्। 

‘यस क्षणमा पूर्व प्रहरी अधिकृतहरू, स्थानीय नागरिक, टोल सुधार समिति, स्थानीय तह, उद्योगी व्यवसायी सञ्चारकर्मी लगायत सबै क्षेत्रबाट नेपाल प्रहरीलाई रचनात्मक सहयोग हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु,’ आइजिपी खापुङले अगाडि भनेका छन्, ‘संकटको यस घडीमा वैमनस्यता, बदला भावहरूलाई थाँती राखेर मुलुकको एकता, सहृदयता र भातृत्वभावका साथ देशभर शान्त सुरक्षा र अमन चयन कायम राख्न हामी सुबैको  सक्रिय र सकारात्मक भूमिका हुने विश्वास लिएको छु।’

प्रकाशित: २९ भाद्र २०८२ १७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App