पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड बिहीबार रातिदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–५ मा पर्ने तुइन खोला नजिकै खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन भएको हो। यो सडकखण्ड गत असोज ७ गतेदेखि पूर्णरूपमा अवरुद्ध भएको थियो।
संघीय राजधानी काठमाडौंलाई तराई र पूर्वी क्षेत्रसँग जोड्ने मुख्य राजमार्ग दसैँको मुखमा अवरुद्ध हुँदा गन्तव्यतर्फ प्रस्थान गरेका हजारौं यात्रुले सास्ती बेहोरे, तर केही दिनको पहिरोपछि सडक खुलेको भए पनि यात्रुहरूले उहीँ सडकमा ढुक्कसँग यात्रा गर्ने आँट भने गरेका छैनन्।
दसैँका लागि स्याङ्जा घर जान लागेका रेशम परियार नारायणगढ–मुग्लिन सडक खण्डको भएरै घर जाने तरखरमा थिए, तर उनलाई यात्रा सहज हुन्छ भन्ने लागेकै छैन। त्यहीँ बाटोमा बेलाबेला खसिरहने पहिरो र पहिरोपछि आउने सास्तीलाई सम्झँदै उनी भन्छन्, ‘घर जानु नै पर्छ। दसैँको बेलामा घरमा परिवार बाटो हेर्दै बसेका हुन्छन् तर बाटोमा आइरहने पहिरोको कारण दसैँ घरमा नपुग्दै बाटोमै सकिने पो हो कि भन्ने डर छ।’
उनी बाटो सम्झिँदै मुस्कुराउँछन्।
दसैँको मुखमा देशका प्रमुख राजमार्ग विशेष गरी पृथ्वी र नारायणगढ-मुग्लिन सडक खण्डमा बारम्बार पहिरोका कारण सडक अवरोध हुँदा यात्रुले बर्सेनि सास्ती खेप्दै आएका छन्। केही दिनअघिसम्म एकै दिनमा पुगिने उनको घर जाने बाटो पहिरोले अहिले कति दिन लाग्छ टुंगो छैन। गाउँ पुगेका साथीभाइ दुई दिन लागेको अनुभव सुनाउँछन्। परियार भन्छन्, ‘बेलाबेलामा आउने पहिरोले जनतालाई मात्रै दुःख हो, आज पहिरो फाल्यो भोलि फेरि के हो भन्न सकिँदैन।’ बाटो र दसैँलाई लिएर उनको मनमा गहिरो पिर देखिन्छ।
लामो दूरीका सडकमा आउने संकटहरू पटकपटक दोहोरिने क्रम यस्तै छ। चर्चित कृष्णभिरको पहिरो, दाउन्नेको भिर, मुग्लिन-नारायणगढ सडकखण्ड लगायतका प्रमुख राजमार्गमा यात्रुहरूले बढी नै दुःख पाउँछन्। वृद्धवृद्धा, बालबालिका, गर्भवती, सुत्केरी र दीर्घरोगीका लागि त यी बाटाहरू 'यमलोक'कै मार्ग जस्तै बन्छन्।
पूर्वाधारविद् ई.आशिष गजुरेल यस्ता समस्याहरू आइरहनुमा नेपालमा स्तरीय सडक नबनाउनु रहेको तर्क गर्छन्। गजुरेल भन्छन्, ‘एकातिर खोलातिर राम्रो रिटेन्सन वाल बनेको हुँदैन, अर्कोतिर पहिरो खस्न नदिन भित्तामा सुरक्षा छैन।’
राजमार्गमा यात्रा गर्दा आउने साना पहिरोबाट भूगर्वीय जोखिमलाई वास्ता नगर्ने बानी र सडक पिच गरेको छ भन्दैमा सुरक्षित छ भन्ने सोच राख्नु नै गलत भएको उनको भनाइ छ। ‘सडक सुरक्षाका आफ्नै मापदण्डहरू हुन्छन् त्यसैले अब नयाँ ढंगले सोच्न आवश्यक छ,’ उनले भने।
वर्षाको समयमा निरन्तर पहिरो जाने र सडक अवरुद्ध हुने क्रम हरेक वर्ष छ। तर मनसुन सकिएपछि पनि ठुला पहाडबाट सुख्खा पहिरो जानेक्रम बढ्न थालेको छ। पूर्वाधारविद् राजेन्द्र अधिकारी भन्छन्, 'वर्षाको समयमा भिजेका पहाडका माटोहरू घाम लागेसँगै चर्किने र फुट्ने गर्छन्, जसको कारण सुख्खा पहिरोको जोखिम बढेको हो।'
अग्ला पहाडहरू हेर्दा स्थिर र शान्त देखिए पनि बेलाबेलामा आउने भुइँचालो र अन्य प्राकृतिक प्रकोपका कारण कतिबेला चर्किने र फुट्ने हुन्छ भन्न नसकिने भएकाले यस्ता पहाडी पहिरोको इन्जिनियरिङ अध्ययन गर्न आवश्यक रहेको पूर्वाधारविद् अधिकारीले सुझाए।
उनले भने, 'केही अग्ला पहाडहरू हेर्दा स्थिर र शान्त देखिए पनि बेलाबेलामा आउने भुइँचालो र अन्य प्राकृतिक प्रकोपको कारण कतिबेला चर्किने र फुट्ने हुन्छ भन्न सकिँदैन त्यसैले यस्ता पहाडी पहिरोको इन्जिनियरिङ अध्ययन गर्न आवश्यक छ।’
लामो समयसम्म दुःख दिएको कृष्णभिरको पहिरोलाई पनि प्राविधिक अध्ययन गरेर ठीक पारेको भन्दै उनले अन्य प्रमुख राजमार्गको पहिरोलाई पनि इन्जिनियरिङको पाटोबाट अध्ययन गरी समाधान गर्नुपर्ने उनी बताउँछन्। ‘प्रमुख राजमार्गमा आउने पहिरोलाई सम्बन्धित निकाय र मन्त्रालयले अध्ययन टोली बनाउनु पर्छ र समाधानका लागि विज्ञहरूसगँ छलफल गरी पूर्व तयारीमा ध्यान दिनुपर्छ,' उनले भने, 'सधैँ पहिरो गएपछि स्काभेटर जम्मा पारेर समाधान हुँदैन।’
नेपाल आफैँमा भूपरिवेष्ठित राष्ट्र भएको र यहाँका पहाडहरूमा भूकम्प गइरहने भएकाले पनि समस्या आउने गरेको उनको भनाइ छ। सडकमाथि भएका पहाड र पहिरोका गतिविधिलाई इन्जिनियरहरूले अध्ययन तथा अनुसन्धान गरेर अधिकारी बताउँछन्।
प्रकाशित: १० आश्विन २०८२ १३:१८ शुक्रबार





