६ वैशाख २०८३ आइतबार
image/svg+xml
समाज

इच्छाकामना गाउँपालिका सडक आश्रित मानवमुक्त घोषणा

चितवनको इच्छाकामना गाउँपालिकालाई सडक आश्रित मानवमुक्त घोषणा गरिएको छ।  

मानवता प्रवर्द्धन महाअभियानलाई सफल बनाउने उद्देश्यका साथ मानव सेवा आश्रमसँगको सहकार्यमा (आज) बुधबार आयोजित एक कार्यक्रमबिच गाउँपालिकालाई औपचारिक रूपमा सडक आश्रित मानवमुक्त घोषणा गरिएको हो।

सडकमा आश्रयविहीन भई कष्टपूर्ण जीवन बिताइरहेका व्यक्तिहरूको स्याहार, सुरक्षा र संरक्षणका लागि मानव सेवा आश्रम भरतपुर र इच्छाकामना गाउँपालिकाबिच सहकार्य गर्ने सम्झौता समेत गरिएको छ। सो सम्झौतामा गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ र मानव सेवा आश्रमकी महासचिव सुशीला केसीले हस्ताक्षर गरेका छन्।  

कार्यक्रममा हस्ताक्षर गर्दै अध्यक्ष गुरुङले राज्यको लक्ष्यअनुसार गाउँपालिकालाई सडक मानव मुक्त घोषणा गरिएको उनले बताए। सडक आश्रित सहयोगापेक्षी मानवमुक्त गाउँपालिका घोषणा कार्यान्वयन गर्न गर्नुपर्ने नीति सञ्चालन गर्नुपर्ने कार्यक्रम, तथा आवश्यक बजेटको व्यवस्थापन समेत गरिने बताए। इच्छकामनालाई गाउँपालिका क्षेत्रभित्रका सडक आश्रित सहयोगापेक्षी मानवको उद्धार तथा औषधोपचार, पालनपोषण र पारिवारिक पुनर्मिलन गराउने कार्यका लागि आवश्यकता अनुसार कार्यक्रम, बजेट तर्जुमा गरी प्राथमिकतामा गाउँपालिकाले राख्ने लक्ष्य लिएको छ।  

मानव सेवा आश्रमको सहयोगमा आगामी २०८३ सालभित्र नेपाललाई सडक आश्रित सहयोगापेक्षी मानवमुक्त घोषणा गर्ने लक्ष्य लिएको छ। यस अवधिमा गण्डकी र कर्णाली प्रदेशलाई सडक मानव मुक्त घोषणा गरिएको छ। मानव सेवा आश्रमले देशभर १३ हजार ४४ जनालाई उद्धार गरेको मानव सेवा आश्रमकी महासचिव केसीले जानकारी दिइन्। उनका अनुसार मानव सेवा आश्रमले २३ वटा जिल्लामा ३३ वटा सेवा केन्द्र खोलेर काम गरिरहेको छ । हाल यी आश्रममा २ हजार २७ जना रहेका छन्। उद्धार गरेर ५ हजार ४९५ जनालाई पारिवारिक पुनर्मिलन र १ हजार ८४ जनाको सामुदायिक पुर्नस्थापन गराइएको उनले बताइन्। १ हजार ७ सय ३ जनाको भने आश्रममा मृत्यु भएको छ।  

चितवनमा हालसम्म १ हजार ११८ जनाको उद्धार गरी आश्रय प्रदान गरिएको छ। उनका अनुसार आश्रममा हाल ११५ जना छन्। त्यसमध्ये इच्छाकामना गाउँपालिकाबाट ३७ जनाको उद्धार गरिएको छ।  

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले सडक मानवमुक्त अभियान घोषणा गरिएकोमा खुसी व्यक्त गर्दै यस अभियानमा संलग्न संघसंस्थाहरुलाई धन्यवाद दिए। उनले मानवता प्रवर्द्धन महाअभियानलाई सफल बनाउन मानव सेवा आश्रमले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्न आग्रह गरे।  

कार्यक्रममा वडा नम्बर १का अध्यक्ष सन्तबहादुर मगर, २का अध्यक्ष पञ्चबहादुर प्रजा, ४का अध्यक्ष रुद्रप्रसाद उप्रेती वडा नम्बर ५का अध्यक्ष तेज बहादुर शेरचन तथा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत लगायतको उपस्थिति थियो।

प्रकाशित: २५ चैत्र २०८२ १८:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App