प्रहरी महानिरीक्षक अर्याल सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आफ्नो कार्यकालमा कानुनविपरीत आउने राजनीतिक दबाबलाई अस्वीकार गरेको बताएका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा प्रधानसम्पादक गुणराज लुइटेलसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
आफ्नो कार्यकालमा सात जना गृहमन्त्री र सातै जना सचिवसँग काम गरेको अनुभव सुनाउँदै महानिरीक्षक अर्यालले गलत काम गर्न आउने दबाबलाई आफूले सधैँ नकारेको सुनाए।
‘मैले राजनीतिक नेतृत्वलाई कानुनले नमिल्ने कुरा प्रस्ट रूपमा भनिदिने गरेको थिएँ, जसले गर्दा मलाई त्यस्तो ठूलो राजनीतिक दबाबको सामना गर्नु परेन,’ उनले भने।
देश र जनताको सुरक्षामा आँच आउने निर्णय गर्दा घातक परिणाम आउने भन्दै आफूले नेतृत्वलाई सचेत गराउने गरेको उनले सुनाए।
सुरक्षा सेवामा २८ वर्ष लामो समय बिताएका अर्याल ३० वर्षे सेवा अवधिका कारण अवकाशको चरणमा छन्।
लामो समय भारी बोकेर उकालो चढेपछि चौतारीमा पुगेर बिसाउँदा जस्तो आनन्द हुन्छ, हाल आफूले अहिले त्यस्तै महसुस गरिरहेको उनको भनाइ थियो। ‘अब म सरकारी संयन्त्रभन्दा बाहिर रहेर नागरिक र सामाजिक सेवामा बाँकी जीवन बिताउनेछु,’ उनले भने।
सशस्त्र द्वन्द्वको समयमा स्थापित संगठनको नेतृत्व गरेका उनले द्वन्द्वकाल र शान्तिकालका चुनौती फरक रहेको औंल्याए। द्वन्द्वकालमा आफू बाँच्ने र आफ्नो फौजलाई बचाउने प्रमुख चुनौती रहेको उनले स्मरण गरे।
शान्तिकालमा भने संगठनको औचित्यमाथि प्रश्न उठ्ने गरे तापनि विपद् व्यवस्थापन र अन्य अपरेसनमा ज्यानको जोखिम कायमै रहने उनले बताए।
समाजमा विभिन्न वर्ग र स्वार्थ समूहबीच द्वन्द्व हुनु स्वाभाविक प्रक्रिया भएको बताउँदै महानिरीक्षक अर्यालले त्यसको समाधान सम्झौता र संवादबाट मात्र सम्भव हुने धारणा राखे।
देशको शान्ति, विकास र समृद्धिका लागि सबै पक्ष मिलेर संवादमार्फत अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।
प्रकाशित: १६ वैशाख २०८३ १९:२७ बुधबार





