इटहरी उपमहानगरपालिका-१२ मा घरायसी विवादका क्रममा २५ वर्षीया महिलाको हत्या भएको छ।
खोटाङको ऐंसलुखर्क गाउँपालिका-१ घर भई इटहरीमा बस्दै आएका ३० वर्षीय सुमन दाहालले आफ्नी श्रीमती अनिसा भट्टराईलाई काठको बटम प्रहार गर्दा उनको ज्यान गएको हो।
दाहालले राति ८ बजेतिर आफ्नै निवास खनारमा श्रीमतीको टाउको, नाक र कानमा प्रहार गरेका थिए। घटनापछि घाइते भट्टराईलाई प्रहरीले उद्धार गरी उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर पुयाइएको थियो। उपचारको क्रममा उनकाे राति ९:१० बजेतिर चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले बताए।
अभियुक्त खोटाङको ऐंसलुखर्क गाउँपालिका- १,राखाबाङ्देलस्थित रावाथुम प्राथमिक विद्यालयमा प्रधानाध्यापक हुन् भने मृतक भट्टराई खोटाङको मयुर आवासीय विद्यालय, सानोडुम्रे (महेश्वरी) की पूर्व शिक्षक थिइन्।
हत्या आरोपी दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थल प्रहरी चौकी खनारबाट एक सय मिटर जति दक्षिणतर्फ पर्ने प्रहरीले जनाएको छ।
हाल शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। हत्या हुनुको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताए।
प्रकाशित: १५ आश्विन २०८२ ०६:४७ बुधबार





