१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

दसैं सकिएलगत्तै हुम्ली किसान बाली भित्र्याउन व्यस्त

बडादसैं सकिएसँगै हुम्लाका किसान यतिबेला खेतबारीको काममा व्यस्त देखिएका छन्। किसान यतिबेला खेतमा लगाएको विभिन्न बाली भित्र्याउन थालेका छन्।

दसैं सकिएपछि मौसम सफा भएसँगै बाली भित्र्याउने चटारोले छोएको छ।सदरमुकामवासीले फापर, चिनो, सिमी, कोदो, कागुनो लगायत बाली घरमा भित्र्याइसकेका छन्। उनीहरूले हिउँदमा गाईवस्तुका लागि घाँस मात्र भित्र्याउन बाँकी रहेको सिमकोट गाउँपालिका-५ का मुक्ति रावतले बताए।

दसैं अवधिभर यहाँका किसानले सबै बालीनाली घरमा भित्र्याइसकेका छन्। अब घाँस काट्न मात्रै बाँकी रहेको रावतले बताए।

जिल्लाका खार्पुनाथ, सर्केगाड, चङ्खेली, ताँजकोट, अदानचुली र नाम्खा गाउँपालिकाका किसान बाली भित्र्याउन व्यस्त छन्। माथिल्लो हुम्लामा अधिकांश बाली पाकिसकेको छ। चिनो, कागुनो, तिते फापर, मिठे फापर, कोदो, सिमी, भटमास, आलु लगायत बाली थन्क्याउने चटारो रहेको खार्पुनाथकी  प्रगति रोकायाले बताइन्।

समयमै बाली नभित्र्याउँदा गाईवस्तु जथाभावी खेतबारीमा छोडिने भएकाले समयमै बाली भित्र्याउनुपर्ने बाध्यता रहेको उनले बताइन्।

यसपालि दसैं चाँडै परेकाले तल्लो हुम्लाका किसानलाई बाली भित्र्याउन सहज भएको छ। बाली पाकिसकेपछि बेलैमा नथन्क्याए झर्ने समस्या हुन्छ। दसैं सकिएलगतै कामको चाप बढेको छ। बाली थन्क्याउन किसानले खेतमै राति अबेरसम्म काम गर्ने गरेका सिमकोट-२ की गौरी बोहराले बताइन्।

“पहिला चिनो, फापर, कागुनो र सिमी भित्र्याउँछौं। ती बाली भित्र्याएपछि मकै, कोदो, मार्से, आलु र धान बालीको पालो आउँछ”, उनले भनिन्।    

प्रकाशित: २७ आश्विन २०८२ १३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App