डेढ वर्षअघि चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको गणपति डिलक्स बसको भग्नावशेषबाट मानव कङ्काल फेला परेको छ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेशीस्थित त्रिशूली नदी किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको बस उत्खनन गर्ने क्रममा १६ औं दिनमा मानव कङ्काल भेटिएको हो ।
गत पुस २७ गते स्थानीय एक व्यक्तिले माछा मार्ने क्रममा नदी किनारमा सवारी साधनको अवशेष देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सोही दिनदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरुमा बेल्चाको प्रयोग गरी बालुवा पन्छाउने प्रयास गरेका थिए। मानवीय स्रोतबाट मात्र बस निकाल्न सम्भव नभएपछि तनहुँको ‘मिलन चेनपुली’ कम्पनीले चेनपुलीको सहायतामा उत्खनन कार्यलाई तीव्रता दिएको थियो।
जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले बसको भग्नावशेषभित्र मानव कङ्काल भेटिएको पुष्टि गरे।
‘लामो प्रयासपछि पनि सिङ्गो बस निकाल्न नसकिएपछि टुक्रा पारेर निकाल्ने क्रममा बसको अगाडिको भागको एउटा खपेटोमा मानव कङ्काल भेटिएको हो,’ सहायक प्रजिअ रेग्मीले भने, ‘चितवनबाट प्रहरीसहित आएको चिकित्सकको टोलीले उक्त कङ्काललाई परीक्षणका लागि लैजाने तयारी गरिरहेको छ।’
अहिले बसको अगाडिको भाग निकालिएको छ भने पछाडिको भाग निकाल्ने प्रयास भइरहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा गरिएको उत्खननका क्रममा भेटिएको उक्त बसको इन्जिन नम्बर र चेसिस नम्बरका आधारमा त्यो सिमलताल दुर्घटनामा परेको गणपति डिलक्स नै भएको पुष्टि भइसकेको छ।
२०८१ असार २८ गते बिहान चितवनको भरतपुर–२९ सिमलतालमा लेदोसहितको भीषण पहिरो खस्दा काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल डिलक्स बस त्रिशूली नदीमा खसेका थिए।
दुईवटा बसमा गरी ६५ जना यात्रु सवार रहेकोमा ३ जना यात्रुले पौडिएर ज्यान बचाउन सफल भएका थिए भने अन्य यात्रु र दुवै बस नदीमा बेपत्ता भएका थिए। लामो समयसम्म आधुनिक प्रविधिको प्रयोग गरी खोजी गर्दा पनि बसको अवस्था अज्ञात रहँदै आएको थियो।
प्रकाशित: १२ माघ २०८२ १८:५३ सोमबार





