राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र सम्वर्द्धनका लागि योगदान गर्ने मानव अधिकारकर्मीलाई २०८२ सालमा प्रदान गर्ने सम्मान र पुरस्कारको निर्णय गरेको छ।
आयोगका सदस्य मनोज दुवाडीको संयोजकत्वमा गठित सिफारिस समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो। आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार स्व दयाराम परियार स्मृति सम्मान–२०८२, शङ्कर लिम्बू (इलाम), मानव अधिकार पुरस्कार–२०८२ पत्रकार मेनुका ढुङ्गाना (अछाम)लाई दिने निर्णय गरिएको छ। लिम्बू आदिवासी जनजातिको अधिकारका लागि लामो समयदेखि अनवरत रूपमा कार्यरत रहेका छन्।
त्यसैगरी ढुङ्गाना अछाममा रहेर पत्रकारिताको माध्यमबाट मानव अधिकारका विषयवस्तु, विशेषतः महिला अधिकार र न्यायप्राप्त गर्नबाट वञ्चितहरुका सवाललाई जुझारु रूपमा उठान गरेका थिए।
मानव अधिकार सम्मान र पुरस्कारको राशि जनही रु ५० हजारसहित सम्मानपत्र/प्रमाणपत्र रहेको छ। सम्मान र पुरस्कार २०८२ मङ्सिर २४ गते अन्तरराष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) को कार्यक्रमका बीच प्रदान गरिने छ।
प्रकाशित: १६ मंसिर २०८२ १६:४८ मंगलबार





