नेपालमा विवाह गर्ने उमेर घटाउने कि नघटाउने भन्ने विषयमा विवाद भइरहेको बेला राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रव्यापी सुझाव संकलन सुरु गरेको छ। आइतबार विराटनगरमा बाल विवाहले मानव अधिकार उपभोगमा पारेको प्रभावका विषयमा कोशी प्रदेश स्तरीय परामर्श गोष्ठीको आयोजना गरी सुझाव संकलन गरेको हो।
कार्यक्रममा कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले कलिलै उमेरमा विवाह गर्दा बालबालिकाको हरेक पक्षमा असर पर्ने बताइन्। नेपालको कानुनले विवाह गर्ने उमेर २० वर्ष तोकेको भए पनि अझै पनि कलिलै उमेरमा विवाह गर्ने क्रम नरोकिएको उनको भनाइ छ। विवाह गर्ने उमेर २० बाट १८ वर्षमा झार्ने विषयमा धेरै बहस र छलफल भइरहेको भए पनि कलिलै उमेरमा विवाहले स्वास्थ्य, शिक्षालगायत धैरैवटा अधिकारबाट बालबालिकाहरू वञ्चित हुने उनले बताइन्। ‘कानुन पूर्ण रूपमा कार्यान्वयन नहुनु, शिक्षा र जनचेतनाको अभावका कारण धेरै बालिकाहरूको सानै उमेरमा विवाह हुने गरेको छ,’ दनुवारले भनिन्।
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले नेपालमा विवाह गर्ने उमेरका विषयमा विभिन्न बहस भइरहेको बेला राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रव्यापी सुझाव संकलन सुरु गरेको जानकारी दिइन्। उनका अनुसार विवाह गर्ने उमेर २० बाट १८ वर्षमा झार्नुपर्ने विषयमा सरकारले पनि आयोगसँग राय मागेको छ। विवाह गर्ने उमेर घटाउनु उपयुक्त हुन्छ कि हुँदैन भन्ने विषयमा आयोगले सबै प्रदेशमा सरोकारवालाहरूसँग छलफल गरेर राय संकलन गर्ने र त्यही अनुसार सरकारलाई सिफारिस गर्ने थापाले जानकारी दिइन्।
उनका अनुसार कोशीसमेत तीन वटा प्रदेशमा आयोगले सुझाव संकलन गरिसकेको छ। राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालयकी निमित्त प्रमुख तुलसा कार्कीले कोशी प्रदेशको मोरङ र सुनसरीमा धेरै बालविवाहका मुद्दा प्रहरीमा दर्ता भएको जानकारी दिइन्। प्रहरीमा नआएका घटना पनि अझै धेरै हुनसक्ने उनको आंकलन छ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटाले कायैपत्र प्रस्तुत गर्दै बालविवाह अधिकार उल्लंघनको श्रृङ्खलाको सुरुआत भएको बताए। उनका अनुसार नेपालमा १५ वर्षदेखि १९ वर्षका १५ प्रतिशत किशोरीहरू आमा बन्ने गरेका छन्। यो उमेर समूहका ८४ हजारले सुरक्षित मातृत्व सेवा लिएको र ६ हजार ६ सय ४५ जनाले गर्भपतन गराउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ। नेपालले सन् २०३० भित्रमा बालविवाह अन्त्य गर्ने प्रतिबद्धता जनाए पनि उक्त प्रतिबद्धता कार्यान्वयन हुने अवस्था भने नदेखिएको कार्यक्रममा सहभागीहरूले बताएका छन्।
प्रकाशित: ८ मंसिर २०८२ ०७:५१ सोमबार





