नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहनेछ। पश्चिमी वायुको प्रभावले देशका केही पहाडी भागमा आंशिकदेखि सामान्य बादल लाग्नेछ। मौसम पूर्वानुमान महाशाखाले उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभए पनि पश्चिमी वायुले पहाडी भागमा आंशिकदेखि सामान्य बादल लाग्ने बताएको छ।
तिहारको समयमा पहाडी भागका एक-दुई ठाउँमा छिटपुट वर्षा हुनेछ र उच्च हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना छ। महाशाखाले कात्तिक ३ देखि ६ गतेसम्मको मौसम विवरणमा लक्ष्मीपूजाको दिन (कात्तिक ३ गते) देशका पहाडी भागमा आंशिक बादल र बाँकी भागमा मौसम मुख्यतः सफा रहने जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक-दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना छ।
यस्तै, कात्तिक ४ गते देशका पहाडी भागमा आंशिक बादल र बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक-दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना छ।
कात्तिक ५ गते देशको पहाडी भागमा आंशिकदेखि सामान्य बादल र बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ। कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक-दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
कात्तिक ६ गते भाइटीकाको दिन कोशी र मधेश प्रदेशसहित देशका बाँकी पहाडी भागमा आंशिकदेखि सामान्य बादल र बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ। सबै प्रदेशका पहाडी भागका एक-दुई ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भागका एक-दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
प्रकाशित: २ कार्तिक २०८२ ०६:१६ आइतबार





