८ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

छोरीहरू कहिलेसम्म असुरक्षित?

एउटा समाजको भविष्य आमाको काखमा हुर्किरहेका बालबालिकाको आँखामा देखिन्छ। विडम्बना! हाम्रो काखमा रहेका अबोध छोरीहरू आफन्तबाटै सुरक्षित छैनन्। तीन वर्षकी छोरी गरिमा चौधरीको बलात्कारपछि हत्या भएको दर्दनाक घटनापछि हामी अवाक् भएका छौं। जताततै निर्मम प्रश्न उठेका छन् - हामीले अबोध छोरीहरूलाई कस्तो समाज दिइरहेका छौं र अर्की गरिमा जन्मिनुअघि त्यो समाज बदल्न हामी तयार छौं कि छैनौं? प्रश्न एउटा परिवारको पीडामा मात्र सीमित छैन, राज्यको संवेदना, समाजको चेतना र हाम्रो मानवतासम्म यो प्रश्न टड्कारो भएर उभिएको छ।

यो घटना हाम्रो समाजका लागि नयाँ होइन। इतिहासका पानादेखि आजको दिनसम्म, हाम्रा छोरीहरूले कति पटक आफ्नो जीवनको मूल्य चुकाउनुपरेको छ, त्यसको हिसाब सायद हामीसँग छैन। एउटी छोरीको मृत्युको खबर आउँछ, केही दिन समाज आक्रोशित हुन्छ, सामाजिक सञ्जालका भित्ताहरू शोक र प्रश्नले भरिन्छन् अनि समयसँगै सबै कुरा सेलाउँदै जान्छ तर एउटा आमाको काख कहाँ सेलाउँछ र ? एउटा परिवारको घाउ कहाँ पुरिन्छ र?

तीन वर्षकी ती अबोध बालिका, जसले आफूलाई के भइरहेको छ भनेर बुझ्न सक्दिनन्, आफ्नो पीडा शब्दमा व्यक्त गर्न सक्दिनन्, प्रतिकार गर्न सक्दिनन्, उनीमाथि भएको अन्याय सम्झिँदा मन थाम्नै सकिँदैन। हे भगवान्! ती नानीको के दोष थियो? एउटी निर्दोष बालिकाले यो संसारमा जन्मिनुबाहेक के अपराध गरेकी थिइन्? उनको आँखामा सायद संसार अझै नयाँ थियो। उनको चेतनामा दुःख र हिंसाको अर्थसमेत जन्मिएको थिएन। तर हामीले बनाएको यही समाजले उनको निर्दोष बाल्यकाललाई समेत सुरक्षित राख्न सकेन।

गरिमा चौधरीको मृत्युले एउटा परिवारको मात्र काख रित्तिएको छैन, यसले हाम्रो समाजको विवेकमाथि गम्भीर प्रश्न उठाएको छ। एउटी बालिकाको मृत्युले केवल एउटा घरको दियो निभाएको होइन, हाम्रो सामाजिक चेतनाको अन्धकार पनि देखाइदिएको छ। त्यसैले प्रश्न गरिमाले न्याय पाइन् कि पाइनन् भन्नेमा मात्र सीमित छैन। वास्तविक प्रश्न यो हो -हाम्रो समाजले न्याय गर्न सिक्यो कि सिकेन? राज्यले आफ्ना छोरीहरूको पीडा सुन्न सिक्यो कि सिकेन? हामीले एउटी छोरीको मृत्युबाट अर्की छोरीको जीवन जोगाउने पाठ सिक्यौं कि सिकेनौं?

गरिमाको नाममा मूर्ति बनाउनु, श्रद्धाञ्जली दिनु वा केही दिन सामाजिक सञ्जालमा आवाज उठाउनु मात्र न्याय होइन। न्याय भनेको दोषीलाई कानुनको कठघरामा उभ्याउनु हो। न्याय भनेको पीडित परिवारले आफ्नो बच्चा गुमाउनुको पीडा राज्यले गम्भीरतापूर्वक स्वीकार गर्नु हो।

न्याय भनेको आँसु पुछिदिने औपचारिकता मात्र होइन, आँसुको कारण बनेको संरचनालाई बदल्नु हो। न्याय भनेको फेरि अर्की गरिमाले त्यही नियति भोग्न नपरोस् भनेर प्रणाली बदल्नु हो।

हामी कहिलेसम्म एउटी छोरी गुमाएपछि केही दिन आक्रोश व्यक्त गर्ने र त्यसपछि सबै कुरा बिर्सने ? कहिलेसम्म पीडितको फोटो राखेर श्रद्धाञ्जली दिने तर अपराधको जरो उखेल्न नसक्ने? गरिमाको नाममा एउटा मूर्ति बनाइयो, फूल चढाइयो, भाषण गरियो तर अर्की गरिमा सुरक्षित हुन सकिनन् भने त्यो मूर्ति हाम्रो सफलताको स्मारक होइन, हाम्रो असफलताको प्रतीक हुने छ। त्यो न्यायको प्रतीक हुने छैन, हाम्रो सामूहिक विवेकमाथिको प्रश्न बनेर उभिने छ।

झन् ठुलो प्रश्न छ -छोरीहरू नै किन बारम्बार निसानामा पर्छन्? छोरी आमाको गर्भमै रहेको थाहा पाएपछि उनलाई जन्मिन नदिने सोचदेखि लिएर जन्मिसकेपछि हुने विभेद, हिंसा, यौन दुव्र्यवहार र हत्यासम्मको मानसिकता कहाँबाट आयो? आमाको गर्भमा छोरी भएकै कारण उसको जीवनको अधिकार खोस्ने सोच र जन्मिसकेपछि उसैलाई असुरक्षित बनाउने व्यवहारबिच हामीले कस्तो समाज निर्माण गरिरहेका छौं? जन्मिनुअघि छोरीको अस्तित्वमाथि प्रश्न गर्ने समाज र जन्मिसकेपछि उसको सुरक्षाको जिम्मेवारीबाट पन्छिने समाजबिच आखिर फरक के रह्यो?

हाम्रा बालिकालाई कहिलेकाहीं आफ्नै वरिपरिका मानिसबाट खतरा हुन्छ भन्ने वास्तविकताले झन् पिरोल्छ। घरबाहिरको संसार मात्र होइन, कहिलेकाहीं घरभित्रैको परिचित अनुहार पनि भयको कारण बन्न पुग्छ। आफन्त, चिनजानका व्यक्ति वा विश्वास गरिएका मानिसबाट हुने अपराधका घटनाले परिवारभित्रै सुरक्षा र सचेतनाको प्रश्न उठाउँछ। बालिकालाई संसारबाट बचाउनुपर्ने मानिस नै उसको डरको कारण बन्नु हाम्रो सभ्यताका लागि कति ठुलो विडम्बना हो!

यसको कारण अशिक्षा मात्र हो भनेर पन्छिन मिल्दैन। यो संस्कार, गलत सोच, मौनता, कमजोर निगरानी, सामाजिक लाज र दण्डहीनताको संयुक्त परिणाम हो। अपराधीलाई बचाउने मौनता पनि अपराधलाई बलियो बनाउने वातावरण हो।

अपराध भएपछि मात्र दोषी खोज्ने समाजले अपराध जन्मिनुअघिको मानसिकता बदल्न सक्दैन। त्यसैले अपराधीको हातमा मात्र होइन, अपराधलाई सम्भव बनाउने मौनतामा पनि प्रश्न उठाउनुपर्छ। मलाई थाहा छैन, हाम्रो समाजलाई के भइरहेको छ।

हामी कहाँ जाँदै छौं ? एउटा अबोध बालिका आफ्नो पीडा भन्न नसक्ने अवस्थामा हुँदा पनि हामी किन यति मौन छौं ? मिडिया कहाँ छ? बुद्धिजीवीहरू कहाँ छन्? महिला अधिकारकर्मी, नागरिक समाज र समाजका अगुवाहरू कहाँ छन्? किन छोरीहरूको सुरक्षा राष्ट्रिय बहसको स्थायी विषय बन्न सक्दैन? किन एउटी छोरीको मृत्यु भएपछि मात्र हाम्रो विवेक ब्युँझिन्छ? किन केही दिनपछि फेरि त्यही विवेक निदाउँछ?

हामी प्रधानमन्त्री कहाँ जानुभयो ? के गर्दै हुनुहुन्छ ? कहाँ बस्दै हुनुहुन्छ ? केमा जानुभयो ? परिवारसँग कि एक्लै ? जस्ता विषयमा चर्चा गर्छौं। देशका करिब सबै सञ्चारमाध्यम र बुद्धिजीवीहरू प्रायः यिनै कुरामा भुलेका छन्। प्रधानमन्त्रीको व्यक्तिगत यात्राबारे प्रश्न गर्नु आफ्नो ठाउँमा होला। जनताको प्रतिनिधि र राज्यको नेतृत्व गर्ने व्यक्तिका गतिविधिबारे नागरिकले प्रश्न गर्नु लोकतन्त्रको स्वाभाविक अधिकार पनि हो। तर देशका छोरीहरूको सुरक्षा र न्यायको प्रश्न त्यसभन्दा हजारौं गुणा ठुलो हो। एउटा प्रधानमन्त्री कहाँ जानुभयो भन्ने प्रश्नभन्दा एउटी बालिका कहाँ असुरक्षित भइन् भन्ने प्रश्न ठुलो हो। प्रधानमन्त्रीको यात्राभन्दा एउटी आमाको आँसुको यात्रा ठुलो हो। राजनीतिक बहसको कोलाहलभन्दा एउटी अबोध बालिकाको मौन पीडा ठुलो हो।

प्रधानमन्त्रीज्यू, तपाईं देशको नेतृत्व गर्दै हुनुहुन्छ, यस्ता घटनामा राज्यको संवेदना, स्पष्ट धारणा र ठोस कार्य कहाँ छ ? आज गरिमा चौधरी बलात्कृतपछि हत्या गरेर एउटा पोकोमा पाइएको अवस्था छ। देशको कार्यकारी अध्यक्षले यो नितान्त संवेदनशील अवस्थाको सम्बोधन गर्नुपर्ने बेला हो, तर तपाईंले यसबारे कुनै सम्बोधन गर्नुभएको छैन। प्रधानमन्त्रीज्यू, देशका छोरीहरूले तपाईंलाई सोधिरहेका छन् - हामी कहिले सुरक्षित हुन्छौं?

यो राजनीतिक आरोपको विषय मात्र होइन, यो मूलतः मानवताको प्रश्न हो। यो कुनै दल, विचार वा पक्षको मात्र प्रश्न होइन, यो त हाम्रो सभ्यताको प्रश्न हो। तीन वर्षकी बालिका आफ्नो आवाज उठाउन सक्दिनन् भने उनको आवाज बन्नु राज्य, मिडिया, बुद्धिजीवी र सम्पूर्ण समाजको जिम्मेवारी हो। उनको मौनताभित्र दबिएको चिच्याहट सुन्न सक्नु नै हाम्रो मानवताको परीक्षा हो।

बालबालिकाको सुरक्षा केवल प्रहरीको जिम्मेवारी होइन, यो घर, विद्यालय, समुदाय, स्थानीय सरकारदेखि संघीय सरकारसम्म सबैको साझा जिम्मेवारी हो। अब हामीले अपराध भएपछि मात्र आक्रोशित हुने होइन, अपराध हुनुअघि नै रोक्ने प्रणाली बनाउनुपर्छ। बालबालिकालाई सुरक्षित रूपमा बोल्न सक्ने वातावरण चाहिन्छ।

विद्यालयमा बाल सुरक्षा र सचेतना चाहिन्छ। जोखिममा रहेका बालबालिकाको पहिचान र संरक्षण चाहिन्छ। उजुरी गर्ने परिवारलाई सामाजिक दबाब होइन, राज्यको संरक्षण चाहिन्छ र सबैभन्दा महत्त्वपूर्ण, दोषी जतिसुकै शक्तिशाली वा नजिकको व्यक्ति भए पनि कानुनभन्दा माथि कोही छैन भन्ने विश्वास समाजमा स्थापित हुनुपर्छ।

गरिमा चौधरीको न्याय केवल गरिमाको परिवारको प्रश्न होइन, यो हामी सबै आमाको प्रश्न हो। यो नेपालका प्रत्येक छोरीको प्रश्न हो। एउटी आमाले आफ्नी छोरीलाई संसार देखाउन जन्माउँछिन्, डर देखाउन होइन। छोरीले आकाशमा उड्ने सपना देखोस् भनेर हुर्काइन्छ, आफ्नै वरिपरिका मानिससँग डराउन होइन। त्यसैले गरिमाको न्याय माग्नु भनेको केवल एउटा मृत बालिकाका लागि न्याय माग्नु होइन, बाँचिरहेका हजारौं छोरीहरूको भविष्य सुरक्षित बनाउने माग गर्नु हो।

गरिमाको नाममा स्मारक बनाउनु राम्रो हुन सक्छ तर गरिमाजस्तै अर्की बालिका रुन नपरोस्, अर्की आमाको काख नउजाडियोस् र अर्को परिवारले न्यायका लागि वर्षौं धाउन नपरोस्, त्यो नै साँचो श्रद्धाञ्जली हुनेछ। पत्थरमा गरिमाको नाम कुँदेर मात्र उनको स्मृति जीवित रहँदैन, एउटी छोरी सुरक्षित भएर विद्यालय जान सक्ने समाज निर्माण भयो भने मात्र उनको मृत्युको पीडाले अर्थ पाउनेछ।

हाम्रो देशमा ‘छोरी उदय’, ‘छोरी विधवा’, ‘छोरी उद्यमी’, ‘प्रधानमन्त्री छोरी सम्मान कार्यक्रम’ जस्ता अनेकौं कार्यक्रम छन्। ती कार्यक्रमले केही गरिरहेका छन् तर अब केवल कार्यक्रम पर्याप्त छैनन्। अब भाषणभन्दा व्यवहार चाहिन्छ, घोषणाभन्दा सुरक्षा चाहिन्छ, औपचारिकताभन्दा उत्तरदायित्व चाहिन्छ। तीन वर्षकी अबोध बालिकाले समेत आफ्नो जीवन सुरक्षित राख्न सक्दिनन् भने हामीले विकास, समृद्धि र सभ्यताको जतिसुकै ठुलो दाबी गरे पनि हाम्रो अन्तरात्माले त्यसलाई स्वीकार गर्ने छैन।

अर्की गरिमा जन्मिनुअघि नै हामी बदलिनुपर्छ, राज्य बदलिनुपर्छ, समाज बदलिनुपर्छ, सोच बदलिनुपर्छ। गरिमा चौधरीले न्याय कहिले पाउने ? अर्की गरिमा जन्मिनुअघि नै समाज कसरी बदल्ने? यी प्रश्नको उत्तर अब राज्यले दिनैपर्छ किनकि नेपालमा कुनै पनि छोरीको जीवन सस्तो छैन। एउटी छोरीको सुरक्षा केवल एउटा परिवारको सुरक्षा होइन, यो राष्ट्रको सभ्यता र मानवताको परीक्षा हो।

प्रकाशित: ८ भाद्र २०८३ ०६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App