तेह्रथुमको लालिगुँरास नगरपालिकाले बाँदर लखेट्न अभियान सुरु गरेको छ । नगरक्षेत्रभित्रका किसानले लगाएको बााली बाँदरले नष्ट गरेर दुःख दिन थालेपछि पीडित भएका किसानहरूको राहतका लागि नगरपालिकाले बाँदर खेद्ने अभियान सुरू गरेको हो ।
अभियान सञ्चालन गर्न नगरपालिकाले जेठ १ गते सार्वजनिक बिदा समेत दिएको छ । बाँदरको समस्या न्यूनीकरण गर्न नगरपालिकाले जेठ १ र २ गते बाँदर लखेट्ने अभियान नै सञ्चालनगर्दै विभिन्न स्थानबाट बाँदर धपाउने कामलाई तीव्र बनाएको छ ।
वर्षभरिको मेहनत, पसिना र लगानीले हुर्काएको मकै, आलु, कोदोदेखि तरकारीसम्म बाँदरले नष्ट गर्न थालेपछि स्थानीय किसानहरू लामो समयदेखि समस्यामा पर्दै आएका छन् । यही समस्या न्यूनीकरण गर्न गाउँ–गाउँमा स्थानीयहरू टिन ठटाउने, कराउने र समूह बनाएर बाँदर खेद्दै खेतिपाती जोगाउने प्रयासमा जुटेका हुन् । अभियानअन्तर्गत बाँदरलाई नगर सीमाबाहिर धपाउन, अस्थायी बाँदर हेरालु परिचालन गर्ने तथा प्रभावित क्षेत्रमा निगरानी बढाइएको नगरपालिकाले जनाएको छ । बाँदर नियन्त्रणका लागिबाँदर हेरालु परिचालन, फलफूल रोपण तथा संवेदनशील क्षेत्र पहिचानगर्ने कार्यक्रमसमेत अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित: १ जेष्ठ २०८३ २०:२७ शुक्रबार





