सिन्धुलीको तीनपाटन गाउँपालिकामा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत अधिकांश घरधुरीमा खानेपानीको धारा जडान गरिएको छ।
गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को साझेदारीमा सञ्चालित आयोजना सम्पन्न भएसँगै स्थानीय बासिन्दाले घरआँगनमै शुद्ध खानेपानीको सुविधा पाएका छन्।
गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरका अनुसार हालै वडा नं. २ को भीमस्थान, चौतारा, चिसापानीटार, डढुवा, शाखाजोर लगायतका बस्तीमा आयोजना सम्पन्न भएको हो।
सो वडामा मात्रै ५१४ घरधुरीमा नयाँ धारा जडान गरी खानेपानी सञ्चालनमा ल्याइएको छ। ‘आयोजनाबाट ५१४ घरधुरीका साथै ४ सामुदायिक विद्यालय र १ स्वास्थ्य संस्था गरी करिब ३,७१० जना लाभान्वित भएका छन्,’ अध्यक्ष मगरले आयोजना उद्घाटन गर्दै भने।
अध्यक्ष मगरले बिहानै उठेर घण्टौँ हिँडेर पँधेरोमा पानी लिन जानुपर्ने बाध्यताको अन्त्य भएको उल्लेख गरे। ‘बिहान ४ बजे नै उठेर गाग्री बोकेर पँधेरो जाने युगबाट अब घरघरै धाराको पहुँचमा जनजीवन पुगेको छ,’ उनले भने।
करिब २ करोड ८४ लाख रुपैयाँको लागतमा सम्पन्न भएको यस आयोजनामा तीनपाटन गाउँपालिकाको समपूरक कोषबाट ६६ लाख ९३ हजार, नेवाबाट १ करोड ४६ लाख १६ हजार र स्थानीय समुदायबाट ७१ लाख ११ हजार बराबरको जनश्रमदान रहेको गाउँपालिकाले जनाएको छ।
आयोजनालाई दिगो र प्रभावकारी बनाउन १६ वटा पानी सङ्कलन तथा वितरण ट्याङ्की र ७ वटा पानी शुद्धीकरण गर्ने फिल्टर जडान गरिएको नेवाका प्रदेश प्रमुख भरत भट्टले जानकारी दिए।
घरआँगनमै धारा जडान भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन्। तीनपाटन-२, भीमस्थानका स्थानीय बद्री कोइरालाले भने, ‘घरघरै चिटिक्क परेका धारा छन्, अब खानेपानीको समस्या हुने छैन। शुद्ध पानी जीवनको पहिलो आवश्यकता हो, जुन हामीले पाएका छौँ। यसमा हामी धेरै खुसी छौँ।’
तीनपाटन गाउँपालिकाका ११ वटै वडाहरूमा हालसम्म ८८ भन्दा बढी खानेपानी आयोजनाबाट २,१०० भन्दा बढी धारा जडान भइसकेका छन्। गाउँपालिकाले पुराना आयोजनाहरूको मर्मतसम्भार गर्दै नयाँ आयोजना निर्माणलाई समेत तीव्रता दिएको जनाएको छ।
प्रकाशित: २८ असार २०८२ १५:३१ शनिबार





