१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

विदेशबाट फर्किएका हिमबहादुरको एक करोड लगानीमा भेडाबाख्रा फार्म

रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका ५० वर्षीय हिमबहादुर छन्त्याललाई सहरबजारको सुविधायुक्त बसाइँ छाडेर भेडाबाख्राको पछि लागेर लेकबेसी गर्नुपर्ने बाध्यता थिएन।

सुविधा, अवसर र रोजगारीको लागि गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम चलिरहेका समयमा म्याग्दीको विकट र दुर्गम क्षेत्रका रुपमा चिनने मल्कवाङका हिमबहादुर भेडाबाख्रा पालेर जङ्गल पसे।  ‘युएइमा २० वर्ष काम गरेर कमाएको पैसाले पोखरामा घरपरिवारसँगै बिलासी जीवन बिताउन पनि पुग्ने थियो,’ उनले भने, ‘आफ्नो जन्मिएको ठाउँमा पनि केही गरौँ। कोही गाउँ छाडेर गए पनि कोहीले केही गर्नुपर्छ भन्ने भावनाले प्रेरित भएर जन्मथलो फर्किएर व्यावसायिक भेडाबाख्रा पालेको हो।’

हिमबहादुरले विदेशमा आर्जेको अनुभव र पुँजीलाई परिचालन गरेर जन्मथलोमा ‘मल्कवाङ भेडाबाख्रा फार्म’ सञ्चालन गरेका हुन्। उनका परिवार र आफन्त पोखरामा बसोबास गरेपनि उनी भने छ सय भेडा चराउँदै हिउँदमा बेसीका फाँट र बर्खामा हिमालतिर हिँड्ने गर्छन्।

‘असोजमा बेसी झारेको भेडागोठ हिउँदभरि मल्कवाङको फेदी खालीखोलामा राखे,’ उनले भने। ‘वैशाख महिनासँगै गोठ लेकतिर सार्दै साउन–भदौमा धौलागिरि हिमालको बुकी पाटनमा पुर्याउछौं।’ सहरबजारको कोलाहल, प्रदूषण र तनावभन्दा भेडाबाख्रासँगै लेकबेसी गर्दा रमाइलो लाग्ने हिमबहादुरले अनुभव सुनाए।

एक वर्षमा तीन सयको हाराहारीमा भेडाबाख्रा बिक्री गर्ने हिमबहादुरले आफू स्वरोजगार बन्नुका साथै गाउँका तीन जनालाई रोजगारी दिएका छन्। करिब  एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुरले वार्षिक ३० देखि ४० लाखको भेडाबाख्रा बिक्री गर्दै आएका छन्।

भेडाबाख्रालाई  हिउँको चिसोबाट बचाउनका लागि धवलागिरि गाउँपालिकाले खालीखोलामा टहरा निर्माण गर्न सघाएको वडाध्यक्ष अमर छन्त्यालले बताए। साथै भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आन्तरिक तथा बाह्य परजीवी तथा महामारीका विरुद्ध निःशुल्क खोपको व्यवस्था मिलाएको छ।

घुम्ती गोठमा भेडाबाख्राको सुरक्षाका लागि हिमबहादुरले पाँच वटा कुकुर पालेका छन् भने खाद्यान्न ढुवानी गर्न दुई वटा घोडा पालेका छन्। चरन क्षेत्रको कमी, वन्यजन्तुको आक्रमण र मौसममा आएको परिवर्तन भेडापालनमा चुनौती बनेको हिमबहादुरले बताए।    

प्रकाशित: १९ चैत्र २०८२ १२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App