राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा अन्तर बागलुङको निसीखोला गाउँपालिका-४ स्थित कालापैराखोलामा सामान्य वर्षा हुँदा पनि लेदोसहितको बाढी आउँछ।
बाढीले झन्डै दुई मिटर सडकमा क्षति पुर्याएको छ। चार वर्षअघि कालोपत्र भएको लोकमार्ग अहिले पूर्ण रूपमा जीर्ण बन्दा यात्रा असहज बनेको छ। दैनिक हजारौं यात्रु ओहोरदोहोर गर्ने राजमार्गको दूरावस्थाले सास्ती खेप्नुपरेको छ। ठूलो वर्ष हुँदा सवारीसाधन ठप्प हुन्छन्।
सवारीसाधन नचल्दा पश्चिम बागलुङको निसीखोलासहित पूर्वी रुकुम, पश्चिम रुकुम, रोल्पा, जाजरकोट, सल्यान, डोल्पा लगायत जिल्लाबाट राजधानी काठमाडौं, पोखरा, चितवन, बुटवल पुग्ने यात्रुले सास्ती खेप्नुपरेको छ।
निरन्तर वर्षा हुँदा एक सातासम्म पनि लोकमार्ग बन्द हुने गरेको छ। हिउँदमा पनि वर्ष भयो भने सडक बन्द हुने गरेको छ।
सडक बन्द हुँदा घण्टौंसम्म अलपत्र पर्नुपर्ने बाध्यता रहेको गाडी चालक प्रितम थापा मगरले बताए। बन्द हुने सडक समयमा नखुल्दा धेरै पटक सडकमै बास बस्नुपरेको गुनासो गरे। बाढीसहित आएको लेदोमा गाडी फस्दा पाटपुर्जा बिग्रिएको उनले बताए। सडकलाई व्यवस्थित बनाउन सरोकारवाला निकाय उदासीन बनेको थापा मगरले बताए।
उनले भने, “यो लोकमार्गले पश्चिम नेपाललाई जोडेपछि धेरैजसो यात्रु यही मार्ग प्रयोग गरेर काठमाडौं जान्छन्, पहिले हामी सुर्खेतबाट दाङ, बुटवल हुँदै काठमाडौं जान्थ्याैं, अहिले यो राजमार्गले काठमाडौंसँगको दूरी छोटो बनाएको हुँदा यताबाट जाने गर्छौं तर कालापौराखोलामा आउने बाढीले धेरै पटक दुःख पायौं, दुईतीन वर्ष भयो, अहिलेसम्म पनि व्यवस्थित बन्न सकेको छैन।”
मध्यपहाडी लोकमार्ग बागलुङमा सबैभन्दा बढी खण्ड निसीखोलामा पर्छ। पाखुट्टेदेखि पातीहाल्नेसम्म करिब ३८ किलोमिटर छ। अन्य ठाउँमा सडक सहज भए पनि कालापौराखोलामा बढी जोखिम छ।
मध्यपहाडी लोकमार्गका सूचना अधिकारी उज्ज्वल शर्माले ग्रामीण सडक व्यवस्थित नहुँदा लोकमार्गमा क्षति भएको बताए।
निसीखोला गाउँपालिकाले कानाबगर बजारदेखि ओखरेनी गाउँ जोड्ने सडक निर्माण गरेपछि वर्षा हुँदा लेदोसहितको बाढी आएर लोकमार्ग अवरुद्ध हुने गरेको उनको भनाइ छ।
कालापैराखोलामा आउने बाढी रोक्न ग्रामीण सडक नै व्यवस्थित बनाउनुपर्ने शर्माले बताए। यहाँको समस्या समाधान गर्न सडक विभागमै पत्र पठाउने उनले बताए।
“अहिले जुन ठाउँमा बाढीले सडक क्षति बनाएको छ, त्योभन्दा माथि ग्रामीण सडक छ, त्यो ठाउँ पनि अलिकति कच्ची रैछ, वर्षा भयो भने सबै बगेर आउँदो रहेछ, बाढी पन्छाएर सडक सुचार गर्न एउटा मेसिन स्टानबाई राखेका छौं”, उनले भने, “स्थानीय तहले माथिल्लो क्षेत्रको सडक व्यवस्थित गर्यो भने यसको समाधान हुने थियो, हामीले पनि अध्ययन गरेर समाधान कसरी गर्न सकिन्न छ भन्ने निचोड निकाल्ने छौं।”
सडकमा हिलो बग्दा कानाबगर बजार नै कुरूप बन्न थालेको छ। यसको दीर्घकालीन समाधान नहुँदा सामान ढुवानी र यात्रा गर्न धेरै गाह्रो हुने गरेको निसीखोला गाउँपालिका–५ का स्थानी थमबहादुर घर्ती मगरले बताए।
लोकमार्गको वैकल्पिक सडक भए पनि सुचारु नभएको उनको भनाइ छ। लामो समयसम्म निरन्तर वर्षा भएर धेरै दिन लोकमार्ग बन्द हुँदै आएको घर्तीले बताए।
प्रकाशित: १८ आश्विन २०८२ १०:४६ शनिबार





