“नमस्कार है, कहाँबाट आउनुभयो, कहाँसम्म जाने ? एकछिन रोक्नुस् त !” खिरिलो महिला स्वरले चालकहरू सवारी रोक्छन् । नजिकै गएर मृदुभाषामा परिचय लिने र आफ्नो परिचय दिने अनि गन्तव्य सोध्दै ट्राफिक नियम उल्लंघन नगर्न र दुर्घटनाबाट बच्न आग्रह हुन्छ । लगभग ५–७ मिनेटमा कुरा टुंग्याएर सवारी साधन अघि बढ्छन् ।
केही दिनयता मदन भण्डारी लोकमार्गअन्तर्गत गाईघाट–कटारी खण्डको उदयपुरगढी–७ अन्धेरीस्थित जोगिनीपाखादेखि अन्धेरी झर्नासम्मको दूरीमा भइरहेको गतिविधि हो यो । लोकमार्गमा अत्यधिक हुने गरेका सवारी दुर्घटनाबाट बच्न र बचाउन यहाँका युवायुवतीले थालेको ‘सुरक्षित सडकका लागि शुभयात्रा अभियान’ अन्तर्गत यसो गरिएको हो ।
अन्धेरी क्षेत्र यो लोकमार्गको दुर्घटनाको ‘हटस्पट’ नै बन्दै गएपछि युवायुवतीले यस्तो अभियान थालेका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर, नवप्रभात नेपाल उदयपुर र उदयपुरगढी–७ नं. वडाको समन्वयमा अभियान थालिएको अभियानकी संयोजक रमा मगरले बताइन् । मदन भण्डारी लोकमार्गमा निरन्तरजस्तै भइरहेको दुर्घटना कम गर्न र जनधनको क्षति रोक्ने उद्देश्यले अभियान थालिएको मगर बताउँछिन् ।
उनका अनुसार दर्जन हाराहारी महिला–पुरुष अभियन्ता जोगिनीपाखादेखि अन्धेरी झर्नासम्म लगभग ५ किलोमिटर दूरीमा चल्ने दुईपाङ्ग्रे (स्कुटर/मोटरसाइकल)देखि चारपाङ्ग्रे (बस, ट्रक, टिपर र लरीसम्म) सवारी साधन रोकेर सुरक्षित यात्रा गर्न सुझाव दिँदै आएका छन् । अभियानअन्तर्गत सवारी चालकलाई केहीबेर रोकेर मुस्कानसहित मीठा कुरा गर्दै ट्राफिक नियम पालना गर्न, हतारमा नहिँड्न, क्षमताभन्दा बढी मान्छे र सामान नबोक्न, ओभरटेक नगर्न र लेन अनुशासनअनुसार गाडी चलाउन सुझाव दिने गरिएको छ ।
संयोजक मगरले दुर्घटनाबाट धेरै जनधनको क्षति हुन थालेकाले न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीसँग सहकार्य गर्दै अभियान थालेको बताइन् । “यो सडकमा अचानक दुर्घटना बढ्यो, यसले जनधनको धेरै क्षति भएको आँखैले देख्नुपर्यो,” उनले भनिन्, “ट्राफिक प्रहरीसँग छलफल गरेर पूर्वतयारीका साथ अभियान थालेका हौँ । ट्राफिकसँगै सडकमा सवारी साधन रोकेर विस्तारै गन्तव्य पुग्न शुभयात्रा भन्ने गरेका छौँ ।”
अभियानमा खटिएका ट्राफिक प्रहरी हवल्दार सागर दियालीले सडक दुर्घटना हुनुको मुख्य कारण तीव्रगति, ट्राफिक नियमको उल्लंघन, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्नु र लापरवाहीपूर्वक सवारी चलाउनु भएको बताए । त्यसैले यस विषयमा चालकलाई सचेत गराउने गरिएको उनले बताए । मदन भण्डारी लोकमार्गमा अन्य ठाउँभन्दा अन्धेरी क्षेत्रमा बढी दुर्घटना हुने गरेको उनको भनाइ छ ।
जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक दानबहादुर मिरिङछिङ स्वयं पनि अभियानमा खट्दै आएका छन् । पूर्वमा सुनसरी सीमा बेलका नगरपालिका–८ चतारादेखि पश्चिममा सिन्धुली सीमा कटारी नगरपालिका–३ सम्मको दूरीमा अन्धेरीको जोगिनीपाखादेखि अन्धेरी झर्नासम्मको दूरी अत्यधिक दुर्घटना हुने गरेको उनले बताए । इन्स्पेक्टर मिरिङछिङका अनुसार पूर्वबाट पश्चिम जानेभन्दा पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधनहरू सो ठाउँमा धेरै दुर्घटनामा पर्ने गरेका छन् ।
पश्चिमबाट पूर्व आउँदा अन्धेरी झर्नादेखि जोगिनीपाखासम्म घुम्ती र ओरालो सडक भएकाले दुर्घटना बढी हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । कहिलेकाहीँ दिनहुँ र दिन बिराएर दुर्घटना हुने गरेको सो ठाउँमा वैकल्पिक सडक निर्माण मात्र अन्तिम उपाय भएको सरोकारवालाहरू बताउँछन् ।
मदन लोकमार्ग सञ्चालन हुन थालेयता दर्जनौँ यात्रु, पैदलयात्री र चालकहरू दुर्घटनामा परेर ज्यान गुमाइसकेका छन् भने कैयौँ घाइते र अपाङ्गता हुन पुगेका छन् । धनसम्पत्तिको क्षति विवरणको त साध्य नभएको स्थानीय बताउँछन् । सिलसिलेवार दुर्घटना र जनधनको क्षति रोक्न सरकारको ध्यानाकर्षण गराउन पनि युवाहरूले सुरक्षित सडक अभियान गर्न बाध्य भएको संयोजक मगरले बताइन् ।
प्रकाशित: २५ वैशाख २०८३ १७:५९ शुक्रबार





