दोलखाको लाप्चाबाट चरिकोटको लागि उडेको हेलिकप्टर सम्पर्कबिहीन भएको छ।
आज दिउँसो १२ बजेर १७ मिनेटमा उडेको हेलिकप्टर सम्पर्कमा नआएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ।
कार्यालयका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले काठमाडौंबाट चरिकोटका लागि उडेको मुस्ताङ एयरको हेलिकप्टर चरिकोटबाट लाप्चा गएको र त्यहाँबाट फकिर्ने क्रममा सम्पर्क हुन नसकेको नागरिकलाई जानकारी दिए। उनका अनुसार हेलिकप्टरमा चालक दलका एक जनासहित ६ जना छन्।
दोलखाका सहायक जिल्ला अधिकारी औलाख बहादुर आलेले यसबारेमा बुझ्ने प्रयास भइरहेको नागरिकसँग बताए।
यसअघि रसुवाको लाङटाङ क्षेत्रमा हेलिकोप्टर सम्पर्कविहिन भएको भनिएको थियो। तर रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले हेलिकप्टर लाङटाङ नभइ दोलखाका लागि उडेको जानकारी पाएको नागरिकसँग बताए।
प्रकाशित: १३ चैत्र २०८२ १५:४६ शुक्रबार





