६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

मुक्तिक्षेत्रमा भारी हिमपात : जनजीवन प्रभावित

मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ। आज अपराह्न ४ बजेदेखि मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो। मुस्ताङमा कात्तिक १० गतेयता हालसम्म छैटौँपटक हिमपात भएको छ।

वारागुङ मुक्तिक्षेत्र-१ मुक्तिनाथ क्षेत्रका निरन्तर रूपमा भारी मात्रामा हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए। हिमपातसँगै मुक्तिनाथ मन्दिर क्षेत्र आसपासका डाँडाकाँडा हिउँले सेताम्मे भइसकेको उनले बताए। 

मुक्तिनाथ मन्दिरमा बिहानपख बढी मात्रामा दर्शनार्थी हुने गरेको र हिमपात केहीबेर अघिमात्रै सुरु भएकाले दर्शनार्थीलाई खासै समस्या नपरेको व्यवस्थापक भुसालको भनाइ छ। हिमपातका कारण चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवन प्रभावित भएको छ।

त्यसैगरी, मुक्तिनाथ क्षेत्रको मुक्तिनाथ, रानीपौवा, झारकोट, खिङ्गा, छेङ्गुर, पुडाक र झोङलगायतका स्थानमा बाँक्लो हिमपात भइरहेको जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले जानकारी दिए। 

माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि दिउँसोदेखि हिमपात भइरहेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए।

हिमपात नरोकिएमा माथिल्लो मुस्ताङका सबै भाग हिउँले ढाकिने उनको भनाइ छ। हिमपातसँगै माथिल्लो मुस्ताङमा चिसो बढेका कारण स्थानीयको दैनिकीमा प्रतिकूल असर पुर्याएको एक्याप प्रमुख पौडेलले बताए। 

त्यस्तै, मुस्ताङका तल्लो क्षेत्र थासाङ गाउँपालिका र घरपझोङ गाउँपालिका क्षेत्रका उच्चलेकमा आंशिक हिमपात भइरहेको र बस्ती क्षेत्रमा दिउँसोदेखि निरन्तर वर्षा भइरहेको जनाइएको छ।

प्रकाशित: ६ चैत्र २०८२ १९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App