जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा आज राति मध्यमदेखि भारी वर्षा हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा मध्यमदेखि भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको छ। सिन्धुपाल्चोकको जामु–गोब्रे क्षेत्रमा ११६ दशमलव ६ मिलिमिटर, लुम्बिनी प्रदेशको घोराहीमा १०२ दशमलव ४ मिलिमिटर, कोशी प्रदेशको लुमानथाङमा ७६ दशमलव २ मिलिमिटर र परासीमा ७० दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ। बन्दीपुरमा पछिल्लो ६ घण्टामा ४३ दशमलव ८ मिलिमिटर वर्षा भएको छ।
अर्यालका अनुसार आज दिउँसो देशका पहाडी भूभागका अधिकांश स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। हिमाली र तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ। धादिङ, नुवाकोट र रसुवा आसपासका क्षेत्रमा भने दिउँसोदेखि रातिसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।
विशेषगरी रातिको समयमा जोखिम बढ्न सक्ने महाशाखाको भनाइ छ। कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
बाढी प्रभावित रसुवा र नुवाकोट क्षेत्रमा भने सामान्य वर्षाले समेत थप क्षति निम्त्याउन सक्ने मौसमविद् अर्यालले बताए। बाढीका कारण जमिन कमजोर र थिचिएको अवस्थामा रहेकाले ठूलो वर्षा नभए पनि कमजोर माटो बग्ने, पहिरो जाने तथा स्थानीय खोलामा आकस्मिक बहाव बढ्न सक्ने जोखिम रहेको उनले बताए।
महाशाखाले बाढी प्रभावित क्षेत्रका केही भूभागलाई सुन्तला रङको सचेतना क्षेत्रमा राखेको जनाएको छ। विशेषगरी रसुवा, सिन्धुपाल्चोक तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा थप सतर्कता आवश्यक रहेको छ।
आज जनै पूर्णिमा समेत परेकाले धार्मिक तथा पर्यटकीय क्षेत्रमा जाने सर्वसाधारणलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न महाशाखाले आग्रह गरेको छ। बाटोमा वर्षा वा मौसमजन्य समस्या देखिएमा ११५५१ र ११५५ नम्बरमा सम्पर्क गरी वर्षाको अवस्था तथा त्यसको अवधि सम्बन्धी जानकारी लिन सकिने जनाएको छ।
प्रकाशित: १२ भाद्र २०८३ ११:०० शुक्रबार





