स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानहरूलाई आफ्नो स्वामित्वमा रहेका जग्गा र भौतिक संरचनाको तत्काल संरक्षण गर्न कडा निर्देशन दिएको छ। मन्त्रालयले परिपत्र जारी गर्दै अतिक्रमण भएका जग्गाको विस्तृत विवरण संकलन गर्न र सम्पत्ति सुरक्षा सुनिश्चित गर्न सबै निकायलाई निर्देशन दिएको हो।
मन्त्रालयले अस्पतालहरूलाई आफ्ना जग्गाको साँध–सिमाना स्वीकृत नक्साअनुसार यकिन गर्न, कुनै अनधिकृत संरचना वा अतिक्रमण भए–नभएको स्पष्ट अभिलेख तयार गर्न भनेको छ। अतिक्रमण भेटिएमा सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समयसीमा तोकी लिखित सूचना दिन र त्यसपछि पनि अतिक्रमण कायम रहे जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी हटाउने व्यवस्था गर्न निर्देशन दिइएको छ।
भविष्यमा पुनः अतिक्रमण हुन नदिन खाली वा फिर्ता गरिएका जग्गामा कम्पाउण्ड वाल (घेराबार) निर्माण गर्न र आवश्यक सुरक्षा व्यवस्था अपनाउन पनि मन्त्रालयले स्पष्ट निर्देशन दिएको छ। साथै, जग्गासम्बन्धी लालपुर्जा, स्रेस्ता तथा अभिलेख अद्यावधिक गरी मालपोत र नापी कार्यालयबाट प्रमाणित विवरण सुरक्षित राख्न समेत भनिएको छ।
मन्त्रालयले विशेष रूपमा देशका ठूला र महत्वपूर्ण स्वास्थ्य संस्थाहरूलाई परिपत्रको दायरामा राखेको छ। जसमा वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, भरतपुर अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर लगायतका प्रतिष्ठित स्वास्थ्य संस्था समावेश छन्।
त्यस्तै, क्यान्सर अस्पतालहरू, मानसिक अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्र, अनुसन्धान तथा तालिम केन्द्रहरू र अन्य स्वास्थ्य प्रतिष्ठानहरूलाई पनि निर्देशन दिइएको छ। मन्त्रालयले सार्वजनिक सम्पत्तिको संरक्षण र स्वास्थ्य सेवाको प्रभावकारी सञ्चालन सुनिश्चित गर्न यो कदम अत्यावश्यक भएको स्पष्ट पारेको छ।
प्रकाशित: ३१ वैशाख २०८३ १०:२६ बिहीबार





