२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

गाउँमै स्वास्थ्य परीक्षण : भीमदत्तमा प्रयोगशाला सेवा सञ्चालन

कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित सहरी स्वास्थ्य केन्द्रको प्रयोगशाला सेवा सञ्चालन भएपछि यहाँका स्थानीयलाई सामान्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। गाउँको स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षणसहितको सेवा पाएपछि स्थानीयले सामान्य स्वास्थ्य परीक्षणका लागि महेन्द्रनगर सदरमुकाम जानुपर्ने बाध्यता अन्त्य भएको छ।  

‘गाउँमै प्रयोगशाला सेवा सञ्चालन भएपछि हामीले सामान्य स्वास्थ्य परीक्षणका लागि महेन्द्रनगर बजार जानुपर्ने बाध्यताको अन्त्य भएको छ,’ भीमदत्त नगरपालिका–१६ का स्थानीय जयन्ती सामन्तले भने, ‘विरामी हुँदा धेरै स्वास्थ्य परीक्षण यहाँ हुन्छ, यसले स्थानीयलाई धेरै राहत भएको छ।’ सहरी स्वास्थ्य केन्द्रले मधुमेह, टाइफाइड, मलेरिया, खकार र पिसाबलगायत २९ प्रकारका रोगको परीक्षण गाउँमै उपलब्ध गराउँदै आएको छ। केन्द्रबाट ज्येष्ठ नागरिक र असहायलाई निःशुल्क सेवा पनि दिइन्छ।  

गाउँ स्वास्थ्य केन्द्रमा प्रयोगशालासहितको स्वास्थ्य सेवा पाएपछि दीर्घरोगी र ज्येष्ठ नागरिकलाई ठूलो राहत पुगेको स्थानीय बताउँछन्। ‘वडामै स्वास्थ्य परीक्षण हुन थालेपछि यहाँका बिरामीले आठ किलोमिटर टाढा रहेको महाकाली प्रादेशिक अस्पताल जानुपर्ने बाध्यता हटेको छ,’ स्थानीय मैनाबति चौधरीले भने, ‘बुढापाका र बालबालिकाका लागि धेरै सहज भएको छ।’ विसं २०६८ मा स्थापना भएको स्वास्थ्य केन्द्रले सुरुमा परिवार नियोजन र गर्भवती जाँचलगायत आधारभूत सेवा प्रदान गर्दै आएको भए पनि २०७२ मा बर्थिङ सेवा विस्तार गरेको थियो।  

विसं २०७९ मा प्रयोगशाला सेवा सञ्चालन गरेर विभिन्न रोगको परीक्षण र बिरामीलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराउन थालेको सहरी स्वास्थ्य केन्द्रका प्रमुख तोयराज भट्टले जानकारी दिए। ‘केन्द्रमा मधुमेह, टाइफाइड, मलेरिया, खकार र पिसाबलगायत २९ प्रकारका रोगको परीक्षण हुँदै आएको छ,’ उनले भने, ‘हामीले २४ घण्टा सेवा दिइरहेका छौं, स्थानीयले सहज रूपमा स्वास्थ्य सेवा लिन सक्छन्।’ उनको भनाइअनुसार गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र विपन्न असहायलाई केन्द्रबाट निःशुल्क सेवा प्रदान हुँदै आएको छ।  

स्वास्थ्य केन्द्रमा दैनिक ४० देखि ५० जनासम्म उपचारका लागि आउने गरेको उनले बताए। केन्द्रलाई भीमदत्त नगरपालिकाले नियमित रूपमा आवश्यक औषधि उपलब्ध गराउँदै आएको छ। रासस

प्रकाशित: ३० भाद्र २०८२ १०:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App