१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

आफैँ अध्यक्ष आफैँ ठेकेदार

गत आर्थिक वर्षको योजना अन्तर्गत सिरहाको नरहा गाँउपालिका-३ मा कब्रस्तान अर्थात् चिहान घर निर्माण भइरहेको छ। यस योजनको काम सम्पन्न गर्नका लागि माइन्यूटमा सात सदस्य निर्माण समिति (उपभोक्ता समिति) गठन गरेको छ। तर, उक्त निर्माण समितिमा व्यक्तिको नाम नै उल्लेख छैन।  

संघीय सरकारको ससर्त अनुदान अन्तर्गत प्राप्त ९० लाख र गाउँपालिकको थप २० लाखको बजेटमा कब्रस्तान निर्माण भइरहेको हो।

यसमा गाउँपालिका अध्यक्ष रामप्रमोद यादवले आफ्नै अध्यक्षतामा नाम बिनाको उपभोक्ता समिति गठनको माइन्यूट गरेका हुन्। माइन्यूटमा मिति २०८२/०३ मात्र लेखिएको देखिन्छ। अर्थात साल र महिना मात्र उल्लेख गरी गते खाली नै राखिएको छ। अध्यक्ष यादवले समिति गठन गरेको माइन्यूट रजिष्टरमा आफैँले हस्ताक्षर समेत गरेको पाइएको छ।  

सात सदस्य उपभोक्ता समितिको मात्र नभई तीन सदस्य अनुगमन समिति बनाइएको माइन्यूट रजिष्टरमा समेत कसैको नाम उल्लेख छैन।

यो काम गाउँपालिका अध्यक्ष यादवले नै गराई रहेको कामको रेखदेख गर्ने जिम्मा पाएका स्थानीय सहमुद मियाँले बताए। ‘यो कब्रगाहको बाउन्ड्री वालको समिति अहिलेसम्म औपचारिक रूपमा गठन भएको छैन। असारको २५ गते अध्यक्ष आफैँ गाउँमा आएर बैठक बसाएका थिए। बैठकबाट उपभोक्ता समिति त गठन भयो। तर, समितिको सदस्यहरू बाहेक पदाधिकारीहरूको नाम चयन भएन,' उनले भने, 'समितिको अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सचिव भने पछि चयन गर्ने भनेर गाउँपालिका अध्यक्ष रामप्रमोद यादव (डम्बर) बैठक सकाएर हिँडेका थिए।'  

यस सम्बन्धमा गाउँपालिका अध्यक्ष राम प्रमोद यादवले यो कामको निकासा नभएको दाबी गरे। 'अब यो आर्थिक वर्षमा कर्मागत गरेर निकासा दिन्छौं,' उनले भने। यस निर्माण कामका लागि गठन भएको भनिएको उपभोक्ता समिति अध्यक्षको नाम उनले खुलाएनन्। 

त्यति मात्र होइन नरहा गाउँपालिका-३ मै आरसीसी ढलान, ग्राभेलसहितका काम अध्यक्ष यादव आफैँले गराएको खुलेको छ। उपभोक्तालाई अलमल्याई उनी मुसहरी वरपीपल टोलस्थितको मुसहरीमा करिब २ सय मिटर लामो तथा ठाउँ अनुसारको चौडाइ भएको सडक आरसीसी ढलान काम अझै जारी छ। उनले आफ्नै ‘अध्यक्ष निर्देशित कोष’को २० लाख रकमबाट असार २४ गतेदेखि मात्र सडक आरसीसी ढलान सुरु गरेका छन्। जुन काम २६ गते बिहीबार अबेरसम्म सकिएको हो। तर, मूल्याङ्कन अनुसारकै चेक एक दिन अगाडि नै  काटिएको एक जना कर्मचारीले बताए। 

उनले भने, ‘यो पालिकामा यो एउटा योजना होइन अधिकांश योजनाको कार्य समपन्न नहुँदै चेक काटिसकिएको छ।'

प्रकाशित: १ श्रावण २०८२ १५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App