१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

टोपी दिवसः जुम्लामा खरायोको ऊनको टोपी विशेष आकर्षण

अंग्रेजी नयाँ वर्षको पहिलो दिन देशभर ‘टोपी दिवस’ मनाइँदै गर्दा जुम्लामा उत्पादन हुने खरायोको ऊनबाट बनेको टोपीले विशेष चर्चा पाएको छ। स्थानीय पहिचानको प्रतीकका रूपमा मात्र सीमित नरही यो टोपी अहिले जुम्लाका किसानको जीवनशैली र आम्दानीको महत्त्वपूर्ण आधार बन्दै गएको छ।

जुम्लाको चन्दननाथ नगरपालिका–८, तलिउम गाउँका विष्णु रोकायाले हरेक वर्ष लाखौँ रुपैयाँ बराबरको टोपी बिक्री गर्दै आएका छन्। उनका अनुसार सुरुमा ग्राहकले ढाका टोपी खोज्ने गर्थे भने अहिले गाउँमै आएर खरायोको ऊनको टोपी किन्ने क्रम बढेको छ। टोपी बुन्नका लागि रोकायाले ६० भन्दा बढी खरायो पालेका छन्। मासिक करिब आठ वटा टोपी बुनेर उनी २५ हजार रुपैयाँसम्म आम्दानी गर्छन्।

स्थानीय समारोह, स्वागत–विदाइ, विवाह, ब्रतबन्धलगायत कार्यक्रममा मात्र नभई जुम्ला आउने उच्च अधिकारी र विशिष्ट पाहुनाको स्वागतमा समेत खरायोको ऊनको टोपी प्रयोग हुने गरेको छ। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत जुम्लाको टोपी लगाइसकेका छन्।

No description available.

खरायोको ऊनको टोपीले स्थानीय अर्थतन्त्रमा नयाँ सम्भावना थपेको छ। चन्दननाथ बहुउद्देश्यीय सहकारीले किसानले बुनेका टोपीलाई बजारसम्म पुर्‍याउने भूमिका खेल्दै आएको छ। सहकारीका कार्यकारी प्रबन्धक ऋषिराम पाण्डेका अनुसार काठमाडौं, भैरहवा, नेपालगञ्ज र सुर्खेतबाट उल्लेख्य अर्डर आउने गरेका छन्। माग अत्यधिक भएकाले सबै अर्डर पूरा गर्न चुनौती रहेको उनी बताउँछन्।

यसैगरी, चन्दननाथ नगरपालिका–८ जातिभिड गाउँका कालीबहादुर भण्डारीलाई पनि टोपी बुन्न भ्याइनभ्याइ छ। ५५ वटा खरायो पालेका भण्डारीले चार वटा खरायोको ऊनबाट एउटा टोपी बुन्छन्। २२ वर्षदेखि खरायो पालन गर्दै आएका उनी भन्छन्, ‘पहिले ढाका टोपीको चर्चा हुन्थ्यो, अहिले खरायोको ऊनको टोपीको माग बढ्दै गएको छ।’

उनका अनुसार पहिले सुर्खेत र नेपालगञ्जबाट ढाका टोपी मगाएर लगाइन्थ्यो भने अहिले आफ्नै खरायोको ऊनबाट बनेको टोपी बेचेर आम्दानी गर्न थालिएको छ। सुरुमा खरायोको टोपी बेच्दा आलोचना गर्नेहरू नै अहिले गाउँमै आएर टोपी किन्न थालेको उनी बताउँछन्।

जुम्लामा हाल १ हजार ४ सय १५ वटा अंगुरा जातका खरायो पालन हुँदै आएका छन्। पशु अस्पतालका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार गत वर्ष मात्र करिब ७० लाख रुपैयाँ बराबरको खरायोको ऊनको टोपी बिक्री भएको थियो। उनका अनुसार खरायोको ऊनको टोपी अहिले जुम्लाको चिनोका रूपमा स्थापित हुँदै गएको छ।

खरायोको ऊनको टोपी जुम्लाको सांस्कृतिक पहिचान मात्र नभई ग्रामीण उद्यमशीलता र स्थानीय उत्पादन प्रवर्द्धनको उदाहरणका रूपमा पनि उभिएको छ। यसले नेपाली परम्परा जगेर्ना गर्नुका साथै गाउँ र सहरबीचको आर्थिक सम्बन्ध मजबुत बनाएको छ। किसानले आफ्नै उत्पादनको मूल्य पहिचान गर्न थालेसँगै ढाका टोपीमा निर्भरता क्रमशः घट्दै गएको देखिन्छ।

नेपाली टोपी दिवस ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नारासहित विसं २०७० देखि मनाइँदै आएको छ। १३ वर्षदेखि निरन्तर मनाइँदै आएको यस दिवसले जुम्लाको खरायोको ऊनको टोपीलाई राष्ट्रियस्तरमा छुट्टै पहिचान दिलाएको छ। सांस्कृतिक महत्त्व, स्थानीय रोजगारी र पर्यटनमा योगदान पुर्‍याउँदै आएको यो व्यवसायले भविष्यमा अझ विस्तार हुने सम्भावना बोकेको छ।

प्रकाशित: १७ पुस २०८२ १९:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App