२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

एक कप चियाले जोडेको सद्भाव

उद्यम

लहानको मुख्य चोक (सहिद चोक)बाट करिब ५० मिटर दक्षिण तरकारी बजारतर्फ मोडिएपछि पूर्वपट्टि रंगीबिरंगी कुर्सी र बेन्चमा मानिसको भिड देखिन्छ। यो भिडले रघुवीर चिया पसलको एक कप चियाको तागत कति छ भनेर दर्साउँछ। बिहान ५ः३० बजे तरकारी बजारको सडक र पेटी रघुवीर चियाका पारखीहरूले भरिन्छ। यहाँ पुग्दा यस्तो लाग्छ, यो कुनै चिया पसल नभएर सेवाग्राहीको भिड लाग्ने सरकारी कार्यालय हो।

यो पसलमा दैनिक १५ घण्टा खटिएर एक हजार कपसम्म चिया बेच्छन् रघुवीरका जेठा छोरा रविन साह र कान्छा छोरा कृष्णा साह।

मनमस्तिष्कमा स्फूर्ति जगाइदिने जादु छ यहाँको एक कप चियामा। दोस्ती यारीलाई मजबुत बनाउने तागत छ यहाँको एक कप चियामा। एक से एक आइडियाहरू फुराउने सामथ्र्य छ यहाँको एक कप चियामा। त्यति मात्र कहाँ हो र, देश विकास कसरी गर्ने भनेर योजना नै बनाउन सक्ने जोस छ यहाँको एक कप चियामा। यहाँको चियाको रङ कडा अनि स्वाद गज्जब भएको चियाले हरेक वर्ग समुदायका मानिसलाई जोडेर राखेको छ।

त्यतिकै भनिएको छैन– एक कप चिया र असल साथी भइदिए समाधान गर्न नसक्ने कुनै समस्या नै छैन।

कृष्णा भर्खर २५ वर्षका भए तर उनले चलाउने रघुवीर चिया पसल चार दशक अगाडिदेखिको हो। उनका हजुरबुबा गंगाई साहले छोरा रघुवीरको नाम राखेर चिया पसल चलाउने गर्थे। त्यसबेला एक रुपैयाँमा एक कप चिया बेच्ने गर्थे गंगाईले। अहिले कपको २० रुपैयाँ पर्छ । नाति कृष्णा र रविनले अहिले हजुरबुबा र बुबालाई पालो दिन सक्ने भएका छन्। बितेको चार दशकमा समय, स्वाद अनि संख्या एकनासले बढिरहेको छ।

कृष्णा र रविनको दैनिकी बिहान पाँच बजेदेखि राति नौ बजेसम्म यही पसलमा स्वादिलो चिया बनाएर बित्ने गर्छ। रघुवीर चिया पसल यस्तो ठाउँ हो, जहाँ मानिसहरू बिहानै ‘गुड मर्निङ’ भन्दै चियाको चुस्की लगाउन भेला हुन्छन् अनि साँझ कृष्णाको हातको चिया खाएर ‘गुड नाइट’ भन्दै छुटिन्छन्।

जति मिठो कृष्णा र रविनले बनाउने चिया छ, उनको मेहनतको रङ पनि उस्तै कडा छ। दैनिक एक हजार कपसम्म चिया बेच्ने गर्छन् उनीहरू। दैनिक १५ घण्टा खटिएर करिब एक हजार बढीलाई चिया खुवाउँदा मान्छे नथाक्ने भन्ने त हुँदैन तर पनि उनको अनुहार उस्तै उज्यालो हुन्छ। ओठमा न्यानो आतिथ्यको मुस्कान कायमै हुन्छ। रोजगारीका लागि भन्दै खाडीमा हन्डर, ठक्कर खानुपरेको छैन उनीहरूलाई।

उखरमाउलो गर्मी होस् वा कठ्यांग्रिदो चिसो हरेक मौसममा चिया पकाउन व्यस्त कृष्णा र रविन दैनिक १५–१६ घण्टासम्म अथक चिया पस्किरहेका हुन्छन्। एक दिन होइन, दुई दिन होइन, वर्षौं वर्षदेखि उनीहरूको दैनिकी यसैगरी बितिरहेको छ।

रविन भन्छन्, ‘आफ्नो कामलाई कहिल्यै सानो नसोची निरन्तरता गरिरहेका छौं। हजुरबुबाले सुरु गर्नुभएको कामलाई अगाडि बढाउने जिम्मेवारी सम्हाल्दै छौं। हजारौं भगवानरूपी ग्राहकको साथ पाएका छौं, परिवारको जीविका राम्रोसँग चलेको छ। अनि समाजमा आत्मसम्मानले बाँच्न पाएका छौं।’

यसमै सन्तुष्टि प्राप्त भइरहेको उनले बताए। हामीले चिया बेचेरै आम्दानीसँगै सम्मान पनि पाइरहेका छौं। उनी भन्छन्, ‘ग्राहकको सन्तुष्टि र खुसीले हामीलाई निरन्तर काम गर्न जोस अनि जाँगर थपिरहेको छ।’

पहिला चलखै (नास्ता) ले अतिथिलाई स्वागत गर्ने मधेस अहिले चियाबाट स्वागत गर्छ । अहिले चिया धेरै मानिसको रोजाइको पेय पदार्थ बनेको छ। यसो साथीभाइ भेटिएमा चिया खाने, केही खुसीको कुरा भयो कि ल ल चिया खान जाऔं भन्ने प्रचलन मधेसी समाजमा पनि व्याप्त छ। वास्तवमा चिया खाने भनेको त एक बहाना मात्र हो।

चिया खाने क्रममा आफ्ना कुरा पनि एकअर्कासँग सेयर गर्ने गरिन्छ। अहिले साथीभाइलाई भेट्ने एक माध्यम बनेको छ चिया। चाहे त्यो गाउँ होस् वा सहर, सबैतिर चिया खाने पसलमा बिहान–बेलुका र खाजा खाने समयमा मानिसको जमघट देखिन्छ। चिसो मौसममा मात्र होइन, हर समयमा चिया पसल उत्तिकै भरिभराउ देखिन्छन्।

चियाको चुस्कीसँगै देशविदेशका विभिन्न घटना–सन्दर्भ सुरु हुने गर्छ। समाचार सेयर गर्ने विशेष माध्यम पनि बनेको छ– चिया पसल। पछिल्लो समय चिया पसल सूचनाको मुख्य केन्द्र नै बन्ने गरेको छ। केही सूचना प्रवाह गर्न मानिस चिया पसल धाउने गर्छन्। चिया पसलमा अध्ययन–अनुसन्धान, राजनीतिक कुरा, अन्तर्राष्ट्रिय चर्चा, सामाजिक परिवर्तनका कुरा सुनाउने र सुन्ने गरिन्छ। चिया खाने क्रममा आफ्ना कुरा सेयर हुने हुनाले चाहे ती विद्यार्थी वा कर्मचारी जोसुकैको पनि केही मात्रामा तनाव व्यवस्थापन हुने गर्छ।

चियाको चर्चा गरिरहँदा चिया खाने संस्कृति कहाँबाट सुरु भयो होला भनी उत्सुकता जाग्न सक्छ। वास्तवमा चिया पिउने संस्कृतिको विकास चीनबाट भएको मानिन्छ। यो प्रचलन चीनमा औषधीय जडीबुटीको अध्ययन गर्ने क्रममा अकस्मात् भएको पाइन्छ। चिया पिउने चलन चीनबाट बिस्तारै जापान, भारत हुँदै विश्वभर फैलिएको हो।

हाल आएर चिया मानिसको दैनिक जीवनको एक महत्त्वपूर्ण पाटो बन्न पुगेको छ। साथीभाइसँग भेट हुँदाको रमाइलो गर्न होस् वा घरमा आफन्त या पाहुना आउँदा स्वागत गर्न होस्, हामी चिया नै सझिने गर्छौं। ‘केही नखाए पनि चिया त खाएर जानूस्’ भनी धेरैले अनुरोध गर्ने गर्छन्। गर्मी मौसम होस् वा जाडो, चिया त सदाबहार पेय पदार्थ बनिसकेको छ।

चियाले हाम्रो शरीरलाई निकै राम्रो गर्छ भन्ने होइन। तर, हामीले कसरी चिया बनाएर खान्छौं भन्ने कुराले यसको फाइदा र बेफाइदाको पाटो देखाउने गर्छ। प्रायःले चिया खाने भन्नेबित्तिकै दुध, मसला, चिनी र चियापत्ती हालेर भकभक उमालेर खाने पेय पदार्थलाई नै बुझ्छन्। धेरैको रोजाइ पनि यस्तै चिया छ।

चियाका बेफाइदा पनि उत्तिकै छन्। अधिक मात्रामा चिया पिउनाले शरीरमा क्याफिन बढी भई यसले नकारात्मक असर पनि पार्ने गर्छ तर जेजस्तो भए पनि हाम्रो दैनिक जीवनमा चियाको चुस्कीको निकै महत्त्व रहेको छ। जुनसुकै मौसममा पनि चियाका पारखीहरू प्रशस्तै भेटिन्छन्। त्यसैले पनि चियाले सदबहार पेय पदार्थको पहिचान कायम गर्न सफल भएको हो।

प्रकाशित: १३ मंसिर २०८२ १०:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App