५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

चाडपर्वको मुखैमा किसानको खातामा आधा रकम

रौतहटका उखु किसानले अनुदानको रकम प्राप्त गरेका छन्। कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटले उखु किसानको खातामा अनुदानको रकम पठाएको हो।

रौतहटमा गत वर्ष बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्री प्रालिले गरेको उखुको क्रसिङलाई आधार मानी कोलेनिकाले रकम निकासा दिएको हो। उद्योगले कोलेनिकालाई उपलब्ध गराएको विवरण अनुसार कोलेनिका रौतहटले उखु किसानको खातामा प्रति क्वीन्टल ३५ रुपैयाँको दरले अनुदान रकम पठाएको हो।

सरकारले गत वर्ष उखु किसानलाई प्रति क्वीन्टल ७० रुपैयाँको दरले अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो। गत आर्थिक वर्षमा सरकारले किसानलाई अनुदानको रकम उपलब्ध गराएको थिएन। सरकारले चालु आर्थिक वर्षको लागि अनुदानको रकम कटौती गरेको र गत वर्षको भुक्तानी नदिएको भन्दै उखु किसानहरूले काठमाडौं केन्द्रित आन्दोलन पनि गरेका थिए।

सरकारले कोलेनिकामार्फत रौतहटका ३ हजार ६ सय ४६ उखु किसानको खातामा प्रति क्वीन्टल ३५ रुपैयाँ पठाएको हो। कोलेनिका रौतहटका प्रमुख कोष नियन्त्रक देवी प्रसाद गौतमले ३ करोड ४० लाख ५३ हजार ८०८ रुपैयाँ २५ पैसा किसानको खातामा पठाइएको जानकारी गराएका छन्।

चाडपर्वको मुखमा प्रति क्वीन्टल ७० रुपैयाँको दरले प्राप्त गर्ने आशा गरेका किसानहरूले आधा रकम भए पनि प्राप्त गरेपछि सन्तुष्टि व्यक्त गरेका छन्। बाँकी आधा रकम पनि सरकारले छिटै उपलब्ध गराउने आशामा किसानहरू रहेका छन्।

प्रकाशित: १० आश्विन २०८२ ०८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App