१० चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

हलेसी तुवाचुङ नगर ६ करोडको प्रशासनिक भवन बनाउँदै

खोटाङको धार्मिक/पर्यटकीय स्थानीयतह हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ । नगरपालिकाको ५ नं. वडा दुर्छिमस्थित छापडाँडामा सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सुरु भएको हो ।  

स्थापनाको ८ वर्ष बितिसक्दासम्म जमिन अभावका कारण भवन बनाउन नसक्दा ट्रस प्रविधिको भवनमा नगरपालिकाको कामकाज चल्दै आउको छ । नगरबासीको सेवा प्रवाहमा समस्या झेलिरहेको नगरपालिकाले यसवर्ष आवश्यक जमिन व्यवस्था हुने बित्तिकै भवन निर्माण कार्य अघि बढाएको नगरप्रमुख बिमला राईले बताईन् ।  

अत्याधुनिक प्रविधिमा निर्माण हुने प्रशासनिक भवन बनाउन सङ्घीय सरकारले ५० प्रतिशत अनुदान दिने र बाँकी ५० प्रतिशत नगरपालिकाले बेहोर्नुपर्ने व्यवस्था मिलाइएको छ । नेपाल सरकार, सहरी विकास मन्त्रालय र नगरपालिकाको लागत साझेदारीमा बन्ने भवनका लागि ५ करोड ८७ लाख १८ हजार १ सय ३० रुपैँयाको प्राविधिक इस्टीमेट बनेको छ । मेयर राईका अनुसार भवन निर्माणको ठेक्कासमेत लागेर निर्माण कार्य सुरु भईसकेको छ ।  

नगर प्रवक्ता कमल गिरीका अनुसार भवन निर्माणको जिम्मा आकाश निर्माण सेवा प्रालि सिन्धुपाल्चोकले पाएको छ । आउदो १८ महिना (डेढवर्ष)भित्र बनाईसक्ने गरि सो प्रालिले प्रशासनिक भवन निर्माणको सम्झौता गरि काम थालेको गिरीले बताए ।

प्रशासनिक भवन निर्माणका लागि आवश्यक जमिन नगरबासीले निःशुल्क उपलब्ध गराएका छन् । भवन बनाउन स्थानीयवासी पदमराज राई, भगशेर राई, मोहनबहादुर राई र डिकशेर राईले १ करोडबढी मूल्य पर्ने १२ रोपनी जमिन निःशूल्क दान गरेको मेयर राईले बताईन् । जमिन नभएर भवन बनाउन नसकिरहेको अवस्थामा त्यत्ति धेरै मूल्यको जमिन निःशूल्क पाएलगत्तै भवन निर्माण कार्य थालिहालेको उनले बताईन् ।  

मेयर राईले नगरपालिकाको प्रशासनिक भवन बनाउने योजना नगर विकासको दीर्घकालीन र महत्वपूर्ण कदम भएको अथ्र्याएकी छिन् । ‘मुख्य कुरा विकास निर्माण हो र प्रशासनिक भवन पनि विकास निर्माणकै एउटा महत्वपूर्ण पाटो हो’ मेयर राई भन्छिन् ‘नगरपालिकाको प्रशासनिक कामकाज मात्र नभएर नगरबासीले छिटो छरितो र चुस्त दुरुस्त सेवा पाउने कार्यालय भवनबाटै हो । त्यसैले यो महत्वपूर्ण योजना भन्ने लाग्छ ।’

हलेसी तुवाचुङ नगरपालिकासहित २ नगर र ८ गाउँपालिका गरि १० स्थानीयतह रहेको खोटाङका अन्यको प्रशासनिक भवन भने यसअघि नै निर्माण भईसकेका छन् । सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २ वर्षअघि नै भवन बनाईसकेको छ । दिप्रुङ चुईचुम्मा, बराहापोखरी, खोटेहाङ, जन्तेढुङ्गा, केपिलाशगढी, ऐसेलुखर्क र रावाबेँसी गाउँपालिका भवनहरु पनि गतवर्ष र चालुवर्षको सुरुतिरै निर्माण सकेर सञ्चालन  भईसकेका छन् । 

प्रकाशित: ८ मंसिर २०८२ २१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App