२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय

तनहुँका गुरुङ बस्तीमा यतिबेला परम्परागत घाँटुनाच संरक्षणप्रति विशेष चासो दिन थालिएको छ। लोपोन्मुख बन्दै गएको यस मौलिक संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै पर्यटनसँग जोड्ने उद्देश्यले गाउँगाउँमा घाँटुनाचलाई चासो दिन थालिएका हुन्।

भानु नगरपालिका–१३ बास्पानी, बन्दीपुरको आरथुम्का, आँबुखैरेनी गाउँपालिकाको भोटेश्वारा, दमौली, पुलिमर्याङ, टुटेपानी, हिलेखर्कलगायत होमस्टे गाउँमा वैशाख पूर्णिमादेखि घाँटुनाच सुरु भइरहेको छ। यसले गाउँमा सांस्कृतिक रौनक थप्नुका साथै आन्तरिक पर्यटकको आगमनसमेत बढाएको स्थानीयवासी बताउँछन्। जिल्ला समन्वय समिति तनहुँका पूर्वसदस्य गलबहादुर गुरुङका अनुसार घाँटुनाचले गाउँको मौलिक संस्कृति, एकता र परम्पराको अनुपम झल्को दिन्छ।

“घाँटु चल्दा पाहुनाको जमघट बढेको छ, यसले होमस्टेमा बसोबास गर्ने पर्यटकलाई जीवन्त संस्कृति अनुभव गर्ने अवसर दिएको छ”, उनले भने।

 पर्यटनविज्ञ हरिसिंह गुरुङ घाँटुजस्ता मौलिक संस्कृतिलाई ग्रामीण पर्यटनको मेरुदण्ड मान्नुहुन्छ। “पर्यटक स्थानीय मौलिकता हेर्न गाउँ पुग्छन्। घाँटुनाचलाई व्यवस्थित रूपमा संरक्षण र प्रदर्शन गर्न सके यसले ग्रामीण अर्थतन्त्र उकास्न ठूलो योगदान पुर्याउँछ”, उनको भनाइ छ।

पन्ध्रौँ शताब्दीतिर सुरु भएको मानिने घाँटुनाचमा रजस्वला नभएका कन्यालाई राजा परशुराम र रानी यम्फावतीको प्रतीकका रूपमा नचाइन्छ। तनहुँ, चितवन र गोरखा क्षेत्रमा बिजोर सङ्ख्यामा कन्यालाई ‘घाँटुनी’ बनाएर नचाउने परम्परा छ।

अभियान्ता रञ्जित गुरुङका अनुसार नयाँ पुस्तामा सीप हस्तान्तरण गर्न  विशेष प्रशिक्षणसमेत सञ्चालन गरिएको थियो।  ‘सति’ र ‘बाह्रमासे’ दुई प्रकारमध्ये सतिघाँटु पञ्चमीका दिन पूजा गरी चण्डीथानजस्ता पवित्र स्थानमा सेलाएर यस वर्षका लागि समापन गरिएको छ।

प्रकाशित: २५ वैशाख २०८३ ०६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App