वायुमण्डलमा कार्बन डाइअक्साइडसहित अन्य प्रमुख हरितगृह ग्यासको मात्रा सन् २०२५ मा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। यसले पृथ्वीको तापक्रम दीर्घकालसम्म थप बढ्ने अवस्था बनेको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) को एक प्रतिवेदनले देखाएको छ।
डब्लुएमओको पछिल्लो ‘ग्रिनहाउस ग्यास बुलेटिन’ अनुसार सन् २०२५ मा वायुमण्डलमा रहेको प्रति १० लाख भाग वायुमा कार्बनडाइअक्साइडको विश्वव्यापी औसत मात्रा ४२६.८ भाग (पिपिएम) पुगेको छ।
यो सन् १७५० को औद्योगिक युगपूर्वको स्तरको तुलनामा १५३ प्रतिशतले बढी हो। मानव गतिविधिसँग प्रत्यक्ष हिसाबले सम्बन्धित दोस्रो र तेस्रो प्रमुख हरितगृह ग्यास मिथेन र नाइट्रस अक्साइडको मात्राले पनि सो वर्ष नयाँ कीर्तिमान बनाएका छन्।
‘लगातार अर्को वर्ष पनि नयाँ कीर्तिमान कायम भएको छ। हरितगृह ग्यासले वायुमण्डलमा अहिलेसम्मकै ठुलो स्तरमा ताप शोषण गरेको छ। यसले चरम मौसमी घटना निम्त्याएको छ र यसबाट अर्थतन्त्र र समाजमा जोखिम बढेको छ।
पछिल्ला ११ वर्ष अहिलेसम्मकै सबैभन्दा ताता वर्षका रूपमा रहेका छन् र यो प्रवृत्ति निरन्तर हुने देखिन्छ’, डब्लुएमओकी उपमहासचिव ‘को ब्यारेट’ ले प्रतिवेदन प्रस्तुत गर्ने क्रममा जारी विज्ञप्तिमा भनेकी छन्। ब्यारेटले कार्बन डाइअक्साइड वायुमण्डलमा लामो समयसम्म रहने भएकाले यसको प्रभाव विश्व जलवायुमा वर्षौंसम्म मात्र नभई दशकौं र शताब्दीसम्म पर्ने बताइन्।
संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा वार्ताकारहरूलाई आधिकारिक वैज्ञानिक जानकारी उपलब्ध गराउने उद्देश्यले डब्लुएमओले हरेक वर्ष आफ्ना प्रमुख प्रकाशनका रूपमा यो बुलेटिन सार्वजनिक गर्दै आएको छ। जलवायु प्रतिबद्धतालाई ठोस कार्यमा रूपान्तरण गर्ने उद्देश्यसहित नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा कोप - ३१ सम्मेलन हुँदैछ।
कार्बनडाइअक्साइड वृद्धिदर तीन गुणा
डब्लुएमओको यो बुलेटिनमा हरितगृह ग्यासको वार्षिक उत्सर्जनसहित हालसम्म वायुमण्डलमा जम्मा भएको ग्यासको औसम मात्राको विवरण प्रस्तुत गरिएको छ। प्रत्येक वर्ष उत्सर्जन हुने कुल कार्बन डाइअक्साइडमध्ये करिब आधा वायुमण्डलमै रहन्छ भने बाँकी पृथ्वीका स्थलीय पारिस्थितिक प्रणाली र समुद्रले सोस्ने गर्छन्।
सन् २००४ मा पहिलोपटक यो बुलेटिन प्रकाशित हुँदा डब्लुएमओको विश्व वायुमण्डलीय निगरानी सञ्जालअन्तर्गतका केन्द्रहरूले मापन गरेको कार्बन डाइअक्साइडको वार्षिक औसत मात्रा ३७७.५ पिपिएम मात्र थियो।
अमेरिकाको राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) को वार्षिक हरितगृह ग्यास सूचकांकअनुसार सन् १९९० देखि २०२५ सम्म दीर्घकालीन हरितगृह ग्यासका कारण जलवायु प्रणालीमा पर्ने तापमान वृद्धिको प्रभाव ५६ प्रतिशतले बढेको छ। यस वृद्धिमा कार्बन डाइअक्साइडको योगदान करिब ८१ प्रतिशत रहेको छ।
यसैगरी सन् १९६० को दशकयता कार्बन डाइअक्साइडको वृद्धिदर तीन गुणाले बढेको छ। सन् १९६० को दशकमा यसको वार्षिक औसत वृद्धि ०.८ पिपिएम रहेकोमा सन् २०११ देखि २०२० सम्मको दशकमा बढेर प्रतिवर्ष २.४ पिपिएम पुगेको थियो।
सन् २०२४ देखि २०२५ सम्ममा वायुमण्डलमा कार्बन डाइअक्साइडको विश्वव्यापी औसत मात्रा (कन्सनट्रेसन) २.८ पिपिएमले बढेको छ। यो पछिल्लो दशकको औसतभन्दा बढी भए पनि सन् २०२३–२०२४ मा देखिएको असाधारण वृद्धिभन्दा केही कम हो।
सन् २०२३–२०२४ को शक्तिशाली एल निनोपछि सन् २०२५ मा जमिनका कार्बन सोस्ने प्रणालीमा आएको सुधार र डढेलोबाट हुने कार्बन उत्सर्जनमा आएको कमीका कारण सन २०२४ देखि सन् २०२५ सम्मको वृद्धिदर केही कम देखिएको वैज्ञानिक तर्क छ।
जीवाश्म इन्धनको प्रयोग र शक्तिशाली एल निनोको विकासका कारण सन् २०२६ मा पनि वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा (कन्सनट्रेसन) थप बढ्ने अपेक्षा गरिएको छ।
एल निनोले सन् २०२३–२०२४ मा जस्तै जमिनको कार्बन सोस्ने क्षमतामा असर पार्न सक्छ र बदलिँदो जलवायुका कारण समुद्रको कार्बन सोस्ने क्षमता घट्ने जोखिमसमेत बढेको वैज्ञानिक तर्क छ।
प्रकाशित: १८ कार्तिक २०८३ ०९:४८ बुधबार





-600x400.jpg)