चितवनमा प्रहरीले दुई दिनको अवधिमा जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट नगद एक लाख ११ हजार ९ सय ८५ रुपैयाँ र १२ बुक तास बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार खैरहनी नगरपालिका-८ स्थित पानीट्यांकी चोकमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नगद ७७ हजार ९ सय ९५ रुपैयाँ र १० बुक ताससहित नियन्त्रणमा लिएको हो।
गए राति करिब १ बजे भरतपुर महानगरपालिका-१६ स्थित नवीन चोकबाट थप ५ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नगद ३३ हजार ९ सय ९० रुपैयाँ र २ बुक ताससहित नियन्त्रणमा लिएको हो।
प्रहरीले दुवै घटनामा पक्राउ परेका १३ जनामाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: १८ कार्तिक २०८३ १०:०१ बुधबार





-600x400.jpg)