हिमाल आरोहणमा जादाँ लियोजन अफिसर (सम्पर्क अधिकृत) चाहिन्छ। सम्पर्क अधिकृत चयन हुँदा पहुँचवाला कर्मचारी मात्र पर्छन्। मन्त्रीका निजी सचिव र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कर्मचारीहरू दोहोर्याएर, तेहेर्याएर लियोजन अफिसर बन्छन्। पहुँच नभएका कर्मचारीले भने लियोजन अफिसरका लागि तालिम लिएको ५/६ वर्षसम्म पनि अवसर पाउँदैनन्।
सरकारले कर्मचारीहरूका संघ, संगठनका खारेज गर्नु अघिसम्म तिनै संघ, संगठनका पदाधिकारीले दोहोर्याएर, तेहेर्याएर अवसर पाउने गरेका थिए। यस पटक भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलकी निजी सचिव सुशील पनेरु र मन्त्रालयको कर्मचारी प्रशासन महाशखाका कर्मचारी सुनिल पासवानले लियोजन अफिसर हुने अवसर पाएका छन्। कर्मचारी प्रशासन महाशाखा मन्त्रालयभित्र आकर्षक मानिन्छ।
पनेरु र पासवान आमादब्लम हिमाल आरोहणमा लियोजन अफिसर भई फर्किसकेका छन्। लियोजन अफिसर बन्ने अवसर पाउन आफूले २०७५ सालमा तालिम लिए पनि यसपटक मात्र अवसर पाएको पनेरुले बताए।
२०८० सालमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका निजी सचिव डिजन भट्टराईले लियोजन अफिसर हुने अवसर पाएका थिए।
लियोजन अफिसरका रुपमा हिमाल आरोहणमा जाँदा एक पटकमा ३ हजार अमेरिकी डलर (झन्डै साढे तीन लाख रुपैयाँ) पाउने व्यवस्था छ। यसबाहेक दैनिक ५ सय रूपैयाँ भत्ता पनि पाउँछन्। यसै कारण लियोजन अफिसर चयनमा पहुँचवाला पर्छन्। ६ हजार ५ सय मिटरभन्दा अग्ला हिमाल आरोहणमा जाने समूहमा एक जना सरकारी कर्मचारी सम्पर्क अधिकृतका रूपमा जानुपर्ने कानुनी व्यवस्था छ।
हिमाल आरोहणका क्रममा सम्पर्क अधिकृत बिरामी भए वा लेक लाग्यो भने बिच बाटोबाटै फर्कन पाउने व्यवस्था छ। यही व्यवस्थाको दुरूपयोग गर्दै केही सम्पर्क अधिकृत हिमाल आरोहणका क्रममा एक/दुई दिन मात्र बिताउँछन्। उनीहरू ‘बिरामी भएको’ भन्दै बिच बाटोबाटै फर्कन्छन्। यसरी फर्किए पनि उनीहरूको तोकिएको सुविधा कटौती हुँदैन।
लियोजन अफिसर बिरामी भएर फर्केको अवस्थामा उनले गर्ने काम बेस क्याम्पस्थित सम्पर्क कार्यालयमा कार्यरत कर्मचारीले गर्नुपर्छ।
प्रकाशित: १८ कार्तिक २०८३ १०:०३ बुधबार





-600x400.jpg)