सरकारले जेनजी प्रदर्शनका क्रममा गत भदौ २३ र २४ गते जलेका तथा तोडफोड भएका सरकारी सवारी साधानको लिलामी गर्ने भएको छ।
सहरी विकास मन्त्रालयले आदोलनको क्रममा सिंहदरवार परिसरभित्र जलेका सबै गाडी बिहीबार साँझसम्म नयाँ बानेश्वरस्थित संसद भवन परिसर भित्र लगेको छ। मन्त्रालयका कर्मचारी केशव शर्माका अनुसार सिंहदरबार परिसरबाट क्रेनले उठाएर करिब २ सय ७५ वटा सानो गाडी, करिब ३ सय ५० वटा मोटरसाइकल र २ वटा ठूलो बस नयाँ बानेश्वरस्थित संसद परिसरको पछाडिको भागमा थुपारिएको छ।
शर्माका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परिसर अगाडि जलेका ३ वटा निजी गाडीबाहेक सबै गाडी नयाँ बानेश्वर लगिएको छ । ‘हामीले ती तीन वटा गाडी पनि नयाँ बानेश्वर लग्ने तयारी गरेका थियौ। तर ती गाडीका धनीले बिमाको कारणले उठाउनु दिनु भएन। हामी आफैंले व्यवस्थापन गर्छौै भन्नु भएको छ,’ शर्माले भने ।
मन्त्रालयका कर्मचारीहरुले दशैको विदा सुरु हुनु भन्दा ५ दिन अघिदेखि सिंहदरबारभित्र जलेका गाडी तथा मोटर साइकल नयाँ बानेश्वर लग्न सुरु गरेका थिए। उनीहरूका अनुसार एक दिनमा २५ वटा गाडी तथा ५० देखि ६० वटा मोटर साइकल लग्ने गरिएको थियो। यो काम आज (बिहीबार) देखि पूर्णरूपमा सकिएको छ,’ उनले भने।
यसैवीच, सचिव स्तरीय बैठकले सिंहदरवार परिसरमा भएको आगजनी र तोडफोडको क्रममा आगोले जलेर पूर्णरुपमा क्षति भै प्रयोगमा आउन नसक्ने प्रकृतिका सवारी साधन र जलेर वा तोडफोडबाट ध्वस्त हुन पुगेका सवारी साधानहरुको लिलामी तथा नष्ट गर्न प्रकृया अघि बढाउने निर्णय गरेको छ।
निर्णयमा भनिएको छ, ‘२०८२ भाद्र २४ गते सिंहदरवार परिसरमा भएको आगजनी र तोडफोडको क्रममा आगोले जलेर पूर्णरुपमा क्षति भै प्रयोगमा आउन नसक्ने प्रकृतिका सवारी साधन र जलेर वा तोडफोडबाट ध्वस्त हुन पुगेका विभिन्न यन्त्र उपकरण तथा फर्निचरलाई तत्कालका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको पछाडिको भागमा थुपार्ने र त्यहाँबाटै आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐन तथा नियमावलीले तोकेको प्रकृया बमोजिम तत्काल लिलामी÷नष्ट गर्ने प्रकृया अघि बढाउने निर्णय भएको छ।’
मन्त्रालयका एक कर्मचारीका अनुसार जेनजी आन्दोलनको क्रममा देशभरि करिब चार सय सरकारी गाडी र ६ सय मोटरसाइकलमा क्षति भएको छ। यसको कुल बजार मूल्य करिब चार अर्ब रुपैयाँ बराबर रहेको ती कर्मचारीको अनुमान रहेको छ। सहरी विकास मन्त्रालयको स्वामित्वमा रहेका र मातहतका कार्यालयका ५२ वटा साना गाडी तथा करिब ७० वटा मोटरसाइकल जलेका छन्। यसैगरी भौतिक मन्त्रालयका नौ वटा गाडी जलेका छन् भने १३ वटा गाडी तोडफोड गरिएको छ ।
मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयका ४८ वटा साना गाडी र ७० वटा मोटरसाइकल जलेका छन्। गृह मन्त्रालयका २५ वटा साना गाडी र ३० वटा मोटर साइकल जलेका छन् । आगलागी र तोडफोडबाट बचेका सवारीसाधनका भरमा विभिन्न मन्त्रालयले काम चलाइरहेका छन्।
प्रकाशित: २३ आश्विन २०८२ १९:५६ बिहीबार




