मध्यपूर्वमा बढ्दो तनाव र सैन्य मुठभेडलाई दृष्टिगत गर्दै सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विकसित परिस्थितिलाई नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीहरूको सुरक्षाप्रति संवेदनशील रहेको जनाएको हो।
मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीहरूलाई स्थानीय अधिकारीहरूले जारी गरेका सुरक्षा निर्देशनहरूको कडाइका साथ पालना गर्न र सम्भव भएसम्म घरभित्रै बस्न सल्लाह दिएको छ। यस्तै, सम्बन्धित निकायको पूर्व अनुमति बिना यात्रा नगर्न र नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन समेत आग्रह गरिएको छ।
सरकारले इजरायल वा इरान जाने योजना बनाइरहेका नेपाली नागरिकहरूलाई त्यहाँको अवस्था स्थिर नभएसम्म आफ्नो यात्रा स्थगित गर्न आग्रह गरेको छ। साथै, मध्यपूर्वका अन्य मुलुकमा रहेका नेपालीहरूलाई पनि घटनाक्रमको निरन्तर अनुगमन गर्न र सावधानी अपनाउन भनिएको छ।
विज्ञप्ति हेर्नुस्
इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूका लागि सुरक्षा परामर्श
नेपाल सरकार, परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा विकसित भइरहेको परिस्थितिलाई नजिकबाट नियालिरहेको छ। यस सन्दर्भमा, हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई निम्न सावधानीका उपायहरू अपनाउन सल्लाह दिइन्छ:
१. इजरायल र इरानका सम्बन्धित निकायहरूले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनहरूको कडाइका साथ पालना गर्नुहोस्।
२. सम्भव भएसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, उच्च सावधानी अपनाउनुहोस् र आ-आफ्नो स्थानमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस्।
३. इजरायल र इरानका सम्बन्धित अधिकारीहरूको पूर्व अनुमति बिना यात्रा नगर्नुहोस्।
४. काठमाडौंस्थित परराष्ट्र मन्त्रालय, तेल अभिभ (इजरायल) र दोहा (कतार) स्थित नेपाली दूतावाससँग तल दिइएको सम्पर्क विवरणमा नियमित सम्पर्क कायम राख्नुहोस्।
५. इजरायल वा इरान जाने योजना बनाइरहनुभएका नेपाली नागरिकहरूले दुवै देशको अवस्था सामान्य नभएसम्म आफ्नो यात्रा स्थगित गर्न आग्रह गरिन्छ।
६. मध्यपूर्वका अन्य मुलुकहरूमा रहेका नेपाली नागरिकहरूलाई पनि घटनाक्रमको निरन्तर अनुगमन गर्न र सम्बन्धित देशका आधिकारिक निकायले सुझाए बमोजिमका सावधानीका उपायहरू अवलम्बन गर्न सल्लाह दिइन्छ।
सम्पर्क विवरणहरू:
परराष्ट्र मन्त्रालय, काठमाडौं:
टेलिफोन: +९७७-९८६२६७८४३७
इमेल: waa@mofa.gov.np
नेपाली दूतावास, तेल अभिभ (इजरायल):
टेलिफोन: +९७२-५४५५८२०७७
इमेल: telaviv@nepalembassyil.com
नेपाली दूतावास, दोहा (कतार):
टेलिफोन: +९७४-६६२१४४१९
इमेल: eondoha@mofa.gov.np
प्रकाशित: १६ फाल्गुन २०८२ १५:५१ शनिबार





