नेपाल आयल निगमले काठमाडौं उपत्यकामा अत्यावश्यक परेका उपभोक्ताका लागि आज (आइतबार) पनि थप सात स्थानबाट ग्यास बिक्री गर्ने तयारी गरेको छ।
निगमका अनुसार आज टेकु परिसर, पशु सेवा शाखा, चापली (बूढानीलकण्ठ) र राधास्वामी परिसर (कीर्तिपुर) बाट ग्यास बिक्री गरिनेछ। यसअन्तर्गत टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछन् भने पशु सेवा शाखा, चापलीबाट नेपाल, एचपी र भानु ब्रान्डका ग्यास पाइनेछन्। त्यस्तै, राधास्वामी परिसर, कीर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट, श्रीकृष्ण, साईबाबा र श्रीमाया ब्रान्डका ग्यास बिक्रीवितरण गरिनेछ।
त्यसैगरी, नयाँ बजार जुडो हल परिसर, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरि नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र (ठिमी) बाट पनि ग्यास वितरण गरिनेछ। नयाँ बजार जुडो हल परिसरबाट नेपाल, एचपी र ओम ब्रान्डका ग्यास पाइनेछन् भने तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री हुनेछन्। साथै, चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीबाट नेपाल, एचपी, सूर्य, सागर, एभरेस्ट, सुगम र एसटिसी ब्रान्डका ग्यास बिक्रीवितरण गरिनेछ।
निगमले ग्यासको आयात नियमित भइरहेको र बिक्रीवितरणलाई सहज बनाउन बिक्रेतालाई नियमित ग्यास बिक्री गर्न अनुरोध गरेको छ। यदि कसैले ग्यास पाउन नसकेको खण्डमा नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म माथि उल्लेखित केन्द्रबाट ग्यास खरिद गर्न सकिने व्यवस्था गरेको निगमले जनाएको छ।
शनिबार निगमले काठमाडौं उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि विभिन्न ब्रान्डका छ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्रीवितरण गरेको थियो। निगमका अनुसार टेकु परिसर, यातायात कार्यालय चाबहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर वसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलस्थित बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको हो।
वितरणका क्रममा केही ब्रान्डका ग्यास सिलिन्डर अपुग भएपछि बिक्री केन्द्रमा समयमै उपस्थित भएका उपभोक्तालाई कुपनमार्फत आज पहिलो प्राथमिकतामा राखी ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको निगमले जनाएको छ।

प्रकाशित: ३१ श्रावण २०८३ ०६:३४ आइतबार



-600x400.jpg)

