वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को सङ्क्रमण बढ्दै गएको छ। पछिल्लो समय मेचीनगरका एक पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १० पुगेको छ।
सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका अनुसार मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन्। जिल्लामा हालसम्म मेचीनगरका चार, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जनामा जेई सङ्क्रमण पुष्टि भएको छ।
सङ्क्रमित १० जनामध्ये पाँच जनाको मृत्यु भएको, दुई जना उपचाररत रहेको र तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सङ्क्रमितमध्ये एक जना सात महिनाका बालक रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए।
लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिसबाट बच्न वर्षायाममा घर वरपर पानी जम्न नदिन तथा आवश्यक सावधानी अपनाउन जनस्वास्थ्य निरीक्षक श्रेष्ठले सर्वसाधरणलाई आग्रह गरे। रासस
प्रकाशित: ३१ श्रावण २०८३ ०६:३२ आइतबार



-600x400.jpg)

