राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको नियतमा शङ्का गर्ने ठाउँ नभएको र व्यावहारिक रूपमा कुनै निर्णयले जनतालाई लाभको सट्टा हानि पुर्याएमा त्यस्ता निर्णयहरू तत्काल परिवर्तन गरिने बताएका छन्।
शनिबार रौतहटबाट रास्वपा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूलाई स्वागत गर्ने क्रममा सभापति लामिछानेले सरकारबाट हुने नीतिगत निर्णयहरू आवश्यकता अनुसार परिमार्जन गर्न सकिने बताएका हुन्।
सरकारका कतिपय निर्णयहरू सुरुमा विवादित देखिए पनि कालान्तरमा सही प्रमाणित हुने भन्दै उनले केही समय धैर्य गर्न नागरिकसँग आग्रह गरे।
‘सरकारको निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसमा करेक्सन गर्न सकिन्छ। तर नियत खराब भयो भने करेक्सन गर्न गाह्रो हुन्छ,’ लामिछानेले भने, ‘हजारौं निर्णय गर्दा दुई-चारवटा निर्णयले विवाद ल्याउन सक्छ। किसानको पक्षमा निर्णय गर्छु भन्दाभन्दै त्यही निर्णय किसानको विपक्षमा भइदियो भने त्यसलाई व्यावहारिक रूपमै सच्याउन सकिन्छ।’
विगतमा लागू गरिएको मादक पदार्थ सेवन (मापसे) जाँचको उदाहरण दिँदै उनले सुरुमा विवादमा आएका कैयौं नीतिहरू कालान्तरमा नागरिक हित र सुरक्षाका लागि प्रभावकारी साबित भएको बताए। सरकारले लिएका कुनै पनि नीतिले किसान, मजदुर र गरिब वर्गलाई अप्ठ्यारो पारेमा ती निर्णयहरू परिवर्तनशील हुने उनको भनाइ थियो।
नयाँ प्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै सभापति लामिछानेले रास्वपा गलत बाटोमा गए ताली बजाउने मात्र नभई औंला उठाएर खबरदार गर्ने अधिकार कार्यकर्ताहरूकै भएको स्मरण गराए।
उनले थपे, ‘आफू हुँदाहुँदै आफ्नो पार्टी गलत बाटोमा गयो भने खबरदार भन्ने जिम्मा तपाईंको हो। ताली बजाउने मात्र होइन, औंला उठाएर खबरदार गर्ने जिम्मेवारी पनि आजबाट तपाईंको काँधमा आएको छ।’
प्रकाशित: २ श्रावण २०८३ १५:३१ शनिबार





