३ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

नागढुङ्गा सुरुङमार्गमा जनचेतना बढाउन ‘टनेल रन एण्ड वाक’

सडक विभाग र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) नेपालको संयुक्त आयोजनामा नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शनिबार ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ कार्यक्रम सम्पन्न गरिएको छ।

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालका अनुसार सर्वसाधारणलाई सुरुङमार्गको महत्व, उपयोगिता र सञ्चालनबारे जानकारी गराउने उद्देश्यले दौड तथा पदयात्रा कार्यक्रम आयोजना गरिएको हो। नागढुङ्गा–नौबिसे सुरुङमार्गको लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ।

सुरुआती ठेक्का सम्झौताअनुसार आयोजना सन् २०२३ अप्रिल २६ भित्र सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारण निर्माण कार्य निर्धारित समयमै पूरा हुन सकेन।

निर्देशक नेपालले अब साउन महिनाभित्रै सुरुङमार्ग सञ्चालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिए।

आयोजनाका अनुसार काठमाडौं प्रवेश तथा बाहिरिने प्रमुख नाका नागढुङ्गा–नौबिसे सडकखण्ड हुँदै दैनिक दुई पाङ्ग्रे सवारीसाधनबाहेक औसतमा आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्छन्। तीमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ।

आयोजनाले सुरुङमार्ग सञ्चालनमा आएपछि यात्राको समय घट्नुका साथै ट्राफिक जाम कम हुने र आवागमन थप सहज बन्ने अपेक्षा गरेको छ। यद्यपि, सुरुङमार्गमा भने दुई पाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न अनुमति नहुने व्यवस्था गरिएको छ।

 

प्रकाशित: २ श्रावण २०८३ १७:०७ शनिबार