५ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

सुकुम्बासीको व्यवस्थापनमा सरकार असफल भयो : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरी घरबारविहीन बनाएको बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत उनले आमसञ्चार माध्यममा आएका विस्थापित नागरिकका पीडाहरू अत्यन्त गम्भीर, हृदयविदारक र संवेदनशील रहेको बताएका हुन्।  

उनले सरकारले एकातर्फ सुकुम्बासी बस्ती हटाएको र अर्कोतर्फ होल्डिङ सेन्टरसमेत प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा सुकुम्बासीहरु समस्यामा परेको बताएका हुन्।

पछिल्लो समय सरकारले होल्डिङ सेन्टर खाली  गराउनुको साथै त्यहाँ बसेका नागरिकलाई खाना र पानी समेत बन्द गराउँदा नागरिक समस्यामा पर्नुको साथै वर्षातको समयमा होल्डिङ सेन्टर नै डुवानमा पर्दा सरकारको अमानवीय व्यवहार देखा परेको बताएका छन्। 

उनले असुरक्षित र अनधिकृत क्षेत्रमा बसेका सुकुम्बासीलाई हटाउनुअघि उनीहरूको उचित व्यवस्थापन र पुनःस्थापनाको जिम्मेवारी राज्यको भएको भन्दै बस्ती हटाउँदा प्रधानमन्त्रीबाट आकर्षक प्रतिबद्धता व्यक्त गरिए पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको  बताएका छन्।

 विस्थापित सुकुम्बासी र अव्यवस्थित बसोबासीको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको भन्दै सरकारले आफ्ना कमजोरी सुधार गरी उनीहरूको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्। 

पोखरेलले नागरिकलाई त्रास र सास्तीमा नराखी सुरक्षित आवास र बाँच्न पाउने मौलिक अधिकारको सम्मान गरेर मात्रै कानुनी राज्यको मर्यादा कायम गर्न सकिने बताएका छन्। 

प्रकाशित: २७ असार २०८३ १२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App