कोहलपुरको रोजाइमा टिकटक बनाउने युवा दर्शकका लागि नयाँ गन्तव्यको खोजी कहिल्यै सकिँदैन। चौराह, न्युरोड, सुतैया तालजस्ता भीडभाडस्थलमा लगातार भिडियो छायांकन गर्दा कहिलेकाहीं ठुलै चुनौती बन्न सक्छ। यस्तै क्रममा अब युवा क्रिएटरले नयाँ ठाउँको खोजी गर्नुपर्ने आवश्यकता महसुस गरेका छन्। यस्तो अवस्थामा कोहलपुर– ४ गोहुवा उदीयमान विकल्पका रूपमा देखा परेको छ।
गोहुवा पुग्न सजिलो छ। हबल्दारपुरबाट करिब तीन किमि पश्चिमतर्फ पुग्दा यो स्थान खुला सडक र सहज आवागमनको सुविधासहित देखिन्छ। पिपिरी चोकबाट सीधै पश्चिमतर्फ जाने मार्ग पनि छ, जहाँ करिब डेढ किमि यात्रा गर्दा थोरै कच्ची सडक पार गर्नुपर्छ। यसले गर्दा बाहिरका टिकटकर र सामाजिक सञ्जाल क्रिएटरहरूले छोटो समयमा सृजनात्मक सामग्री तयार पार्न सक्ने वातावरण मिलेको छ।
गोहुवाको मुख्य आकर्षण यसको स्थानीय संस्कृति र प्राकृतिक परिवेशमा रहेको छ। यहाँ एक ठूलो गोहीको प्रतिमा निर्माण गरिएको छ, जसले स्थानको ऐतिहासिक र सांस्कृतिक महत्त्व झल्काउँछ। प्रतिमा निर्माणको उद्देश्य आन्तरिक पर्यटकलाई आकर्षित गर्नु मात्र होइन, युवा क्रिएटरलाई भिडियो बनाउने नयाँ प्रेरणा दिनु पनि हो। अहिलेसम्म यो स्थल स्थानीय गाउँलेबाहेक धेरैलाई परिचित छैन, जसले गर्दा भिडियो सामग्रीको मौलिकता र अनौठोपनामा योगदान पुर्याउँछ।
स्थानको नाम ‘गोहुवा’ पनि यसैकारण रहँदै आएको हो। गाउँमा गोही बस्ने भएकाले स्थानको नाम गोहुवा परिकल्पना गरिएको छ। यसले यहाँको सांस्कृतिक पहिचान र स्थानीय जीवनशैलीमा आधार बनाएको छ। गाउँलेका अनुसार, गोहुवामा गोहीको संरक्षणसँगै पर्यटक र युवा क्रिएटरका लागि सुरक्षित र सुन्दर वातावरण निर्माण गरिएको छ।
सामाजिक सञ्जाल र टिकटकमा क्रिएटिभ भिडियो बनाउन चाहनेका लागि गोहुवा नयाँ गन्तव्य बन्न सक्छ। भीडभाडबाट टाढा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक आकर्षणयुक्त गोहुवा युवा क्रिएटरका लागि आकर्षक स्थान बनेको छ। यो स्थल आन्तरिक पर्यटनको दृष्टिले पनि ओझेलमा परेको छ। यदि स्थानीय सरकार वा पर्यटन संघले यसलाई व्यवस्थित बनाउने काम अगाडि बढाए, यहाँको आयआर्जन र पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्न सक्छ।
‘गोहुवा टिकटक र सामाजिक सञ्जाल क्रिएटरका लागि मात्र होइन’, स्थानीय गीता चौधरीले भनिन्, ‘स्थानीय अर्थतन्त्र र आन्तरिक पर्यटन प्रवद्र्धनको दृष्टिले पनि नयाँ सम्भावना बोकेको गन्तव्य हो।’
युवा सिर्जनशीलताका लागि रमाइलो, सांस्कृतिक र प्राकृतिक मिश्रण भएको यो स्थलको अवलोकन गर्नु अवश्य नै रोचक अनुभव बन्ने उनको विश्वास छ।
प्रकाशित: ६ चैत्र २०८२ १४:१८ शुक्रबार





