कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरमा प्रहरी कारबाहीका क्रममा पक्राउ परेका जेनजी अभियन्ता माजिद अन्सारी राष्ट्रिय मानवअधिकार आयोगको रोहबरमा प्रहरी हिरासतबाट रिहा भएका छन्। उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका अन्सारी बुधबार अस्पतालबाट डिस्चार्ज भएसँगै हिरासतमुक्त भएका हुन्।
शनिबार होल्डिङ सेन्टरमा भएको प्रहरी कारबाहीका क्रममा अन्सारी घाइते भएका थिए। पक्राउपछिको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो, जहाँ केही दिन उपचारपछि चिकित्सकले डिस्चार्ज गरेका हुन्।
रिहाइपछि अन्सारी पक्षले घटनालाई सामान्य रूपमा नलिने स्पष्ट पारेको छ। उनका कानुन व्यवसायीले प्रहरी कारबाहीका क्रममा भएको व्यवहारबारे कानुनी उपचार खोज्ने र यातनाविरुद्धको हक प्रयोग गर्दै सम्बन्धित निकायमा प्रक्रिया अघि बढाउने बताएका छन्। उनीहरूका अनुसार राष्ट्रिय मानवअधिकार आयोगले गर्ने अध्ययन तथा प्रतिवेदनका आधारमा थप कानुनी कदम चालिनेछ।
माजिद अन्सारी पक्राउ परेपछि घटनाले व्यापक सार्वजनिक चासो पाएको थियो। मानवअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी तथा विभिन्न युवा समूहले प्रहरीको बल प्रयोगको आलोचना गर्दै घटनाको निष्पक्ष छानबिन र जिम्मेवारमाथि कारबाहीको माग गरेका थिए।
परिवारका अनुसार उपचार अवधिभर लागेको सम्पूर्ण खर्च आफैंले व्यहोरेको छ। अन्सारी रिहा भए पनि कीर्तिपुर घटनालाई लिएर कानुनी र मानवअधिकारको बहस भने अझै जारी रहने देखिएको छ।
नयाँ नेतृत्वको नियुक्तिसँगै गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको संस्थागत विकास र शैक्षिक कार्यक्रम सञ्चालनले थप गति लिने अपेक्षा गरिएको छ।
प्रकाशित: ३१ असार २०८३ १८:४५ बुधबार





